बलेवा । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरको माल्ढुङ्गा–बलेवा (बाग्लुङ) को १० किमी र रुद्रवेणी–अर्वेनी (गुल्मी) को २० किमी सडकखण्ड बलेवामा अयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
उक्त सडकमा अब विभागले स्तरोन्नति र कालोपत्रको कार्य अघि बढाउने छ । सो करिडोरले भारतको सुनौलीदेखि चीनको कोरला नाका जोड्ने छ । कोरला नाका सञ्चालनका लागि नेपाल र चीन सरकारबीच उच्चस्तरमा सहमति भइसकेको छ आव २०६९÷०७० देखि सो करिडोरअन्तर्गत गुल्मीको पाँहदी–अर्वेनी को १२ किमी सडकखण्डका लागि पाएको जिम्मेवारीअनुसार सेनाको विकास निर्देशनालयले ‘कालीगण्डकी करिडोर निर्माण कार्यदल’ गठन गरी काम प्रारम्भ गरेको थियो । सेनाले गुल्मीको हर्मिचौरमा आधारशिविर खडा गरी २०७० पुस २० गतेदेखि निर्माण गरेकामा पछि गुल्मीको रिडी–पालुङखोला हुँदै बाग्लुङको मालढुङ्गासम्म ८० किमीका लागि साधारण मार्ग खोल्ने थप जिम्मेवारी पाएको थियो । सेनाले सो करिडोरमा स्तरोन्नतिको काम पनि गरिरहेको छ ।
मन्त्री ज्ञवालीले जोखिमपूर्ण विकासनिर्माणमा सेनाले जिम्मेवारी दिएको उल्लेख गर्दै निर्माण व्यवसायीलाई सबै आयोजना गुणस्तरीयरुपमा समयमै पूरा गरी समृद्ध नेपालको अभियानमा सघाउन आग्रह गरे । “कानूनले गल्ती गर्ने कसैलाई सानो ठूलो चिन्न छोडेको छ”, गुल्मीबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री ज्ञवालीले भने “यदि कसैले कानूनको मर्मविपरीतका कार्य गर्छ भने सामान्य नागरिक र माननीय वा सम्माननीय भनेर विभेद हुँदैन । त्यस्तालाई कानूनी छहारी हुँदैन ।” आर्थिक विकासका लागि सरकारले बनाएका योजनामा सुशासनको महत्ववपूर्ण भूमिका रहने छ भन्दै मन्त्री ज्ञवालीले त्यसका लागि कानूनको सदुपयोग अत्यावश्यक रहेकामा जोड दिए ।
कालीगण्डकी करिडोर बागलुङ र गुल्मीसँग मात्रै सम्बन्धित नभएकाले यसले छिमेकी भारत र चीनबीचको व्यापार सम्बन्धमा अर्थ राख्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव नरहेको बताए । कालीगण्डकी करिडोरलाई अपुग रकम अन्य बजेट बढी भएका आयोजनाबाट रकमान्तर गरेर पनि विनियोजन गराइने उनले बताए । देशका सबै कुनाकुनालाई सडक सञ्जालले जोड्नका लागि पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडकको निर्माणलाई सरकारले प्राथमिकताका साथ राखेको र अबको एक दशक विकास निर्माणको महाभियान सञ्चालन हुने उद्घोष गरे ।
हाल पूर्वपश्चिम जोड्ने चाार र उत्तरदक्षिण जोड्ने छ करिडोर निर्माण भइरहेको बताउँदै मन्त्री ज्ञवालीले भने “देशको समग्र मुहार नै परिवर्तन हुने गरी काम भइरहेको छ, हामीलाई जनताले विकास निर्माण र स्थिरताका लागि दिएको कार्यादेश हामी पूरा गर्नेछौँ ।” उनले पहिला पहिला जस्तो ‘दुई ढुङ्गाबीचको तरुल’ को हीनताबोधमा नरही नेपाल अब विश्वकै उदीयमान अर्थतन्त्र भएका दुई देशको बीचमा भएकाले त्यसबाट लाभ लिन पूर्वाधार विकास गर्नाको विकल्प नभएको बताए ।
“छिमेकीको घर ठूलो छ भनेर मेरो पनि त्यस्तै चाहियो भनेर मात्रै हुँदैन”, मन्त्री ज्ञवालीले भने “उसको जस्तो घर बनाउन हामीले प्रयत्न गर्न जरुरी छ ।”