पर्यटन बोर्डको सीइओको उमेर सम्बन्धि रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन « Eglish Khabarhub

पर्यटन बोर्डको सीइओको उमेर सम्बन्धि रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन



काठमाडौं । नेपाल पर्यटन बोर्डले सीइओका लागि प्रकाशित विज्ञापनमा उमेर हदको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

गत मंसिर १ गते आइतबार अधिवक्ता खडानन्द ढकालले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल पर्यटन बोर्डलाई विपक्षी बनाइ दर्ता गरेको रिटमा अदालतले अन्तरिम आदेश अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको सूचना यसरी प्रकाशित गर्नु पर्नाको कारण पठाउन भन्दै विपक्षीका नाममा आदेश दिएको हो ।

यसअघि पर्यटन बोर्डले गत मंसिर १८ गते सीईओका लागि विज्ञापन प्रकाशित गरेको थियो । जसमा प्रमुख कार्यकारी अधिकृतका लागि उमेरहद आवेदन दिने दिनसम्म ३५ वर्ष पुगेको र ६० वर्ष ननाघेको उल्लेख छ ।

तर उक्त सर्त प्रचलित कानूनी व्यवस्थाको बर्खिलाफ मात्रै नभइ कानूनी व्यवस्थाको ठाडैं उल्लंघन गर्ने दूराशययुक्त समेत भएको रिटमा दाबी गरिएको छ ।

रिटमा भनिएको छ, ‘नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४(१) ले कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था गरेको छ । सोही दफाको उपदफा (३) ले ‘कार्यकारी प्रमुखको सेवाका शर्तहरु तोकिए बमोजिम हुने’ उल्लेख गरेको छ । यी दुबै उपदफामा कार्यकारी प्रमुखको उमेर हदसम्बन्धी कुनै व्यवस्था गरिएको छैन ।’

त्यस्तै, बोर्डको ऐन–२०५३ को दफा २५ ले प्रत्यायोजित विधायनको व्यवस्था गरेको छ । यस दफाको उपदफा ९१० ले नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्ने र उपदफा (२) ले विनियमहरु बनाउन सक्ने अधिकार दिएको छ । तर यी कुनै पनि उपदफाहरुमा कार्यकारी प्रमुखको उमेरको हदबारे कुनै व्यवस्था गरिएको छैन भनि रिटमा उल्लेख छ ।

नेपाल पर्यटन बोर्ड नियमावली, २०५५ मा कार्यकारी प्रमुखबारे नियम १० मा ‘कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरु विनियममा व्यवस्था भएबमोजिम हुनेछ’ उल्लेख छ । तर यस नियमावलीले समेत कार्यकारी प्रमुखको उमेरको हदबारे केही बोलेको छैन । यसप्रकार नेपाल पर्यटन बोर्ड ऐन, २०५३ र त्यसको नियमावली, २०५५ दुबैले ‘सेवाका शर्तहरु’ तोक्ने सम्पूर्ण अधिकार ‘विनियमावली’ लाई प्रत्यायोजन गरेको अवस्था छ भनि रिटमा उल्लेख छ ।

रिटमा नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ४१ मा बोर्डका कर्मचारीको उमेरको हद ५८ वर्ष तोकिएको छ । सोही विनियमावलीको विनियम ७६(२) मा ‘कार्यकारी प्रमुख वा उपप्रमुखको सेवाका अन्य शर्तहरु ऐन, नियम तथा विनियमहरुमा उल्लेख भएबमोजिम हुनेछन्’ लेखिएको छ । सोही विनियमावलीको विनियम ७६(३) मा ‘उपविनियम (२) मा जुनसुकै कुरो लेखिएको भए तापनि विनियम ४१ मा लेखिएको उमेरको हद कार्यकारी प्रमुखको हकमा लागू हुने छैन’ भनेर प्रष्ट र किटानी व्यवस्था गरिएको उल्लेख छ ।

त्यस्तै, नेपाल सरकार (मन्त्रिपरिषद्)ले पारित गरेको ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ को दफा ३ मा रहेको ‘पदाधिकारी तथा सदस्यको लागि योग्यता’ शीर्षक महलको खण्ड (घ) मा बडो प्रष्टसँग ‘कार्यकारी प्रमुखको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको’ भन्ने किटानी व्यवस्था रहेको देखिने रिटमा लेखिएको छ ।

रिटमा उक्त सूचनालाई समेत उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको थियो ।

Publish on: