त्रिभुवन विमानस्थलको बक्यौता सवा २ अर्ब, कुन-कुन एयरलाइन्सले तिरेनन् पैसा ? « Eglish Khabarhub

त्रिभुवन विमानस्थलको बक्यौता सवा २ अर्ब, कुन-कुन एयरलाइन्सले तिरेनन् पैसा ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वक्यौता रकम सवा २ अर्ब रूपैयाँ पुगेको छ । यो रकम गत कात्तिक ३० गतेसम्म प्राप्त रकमपछिको रकम हो ।

विमानस्थलले दिएको जानकारी अनुसार विमानस्थलले विभिन्न एयरलाइन्स, सरकारी कम्पनी तथा अन्य कम्पनीसँग गरी कुल २ अर्ब २८ करोड २९ हजार ७८७ रुपैयाँ वक्यौता बाँकी छ ।
जसमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले मात्रै ८० करोड ५८ लाख रुपैयाँ बुझाउन बाँकी छ । भने सञ्चालन बन्द भइसकेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले २६ करोड ११ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

सञ्चालनमा रहेका विमान कम्पनीमध्ये सबैभन्दा बढी नेपाल एयरलाइन्सले साढे ३६ करोड रुपैयाँ, हिमालयन एयरलाइन्सले सवा ७ करोड रुपैयाँ, इन्डिगोले ६ करोड रुपैयाँ, एयर इन्डियाले सवा ४ करोड रुपैयाँ, कतार एयरवेजले सवा ३ करोड रुपैयाँ, सलाम एयरले सवा २ करोड रुपैयाँलगायत २२ वटा विमान कम्पनीले तिर्न बाँकी छ ।

सञ्चालन बन्द भइसकेका विमान कम्पनीमा एयर एसियाले १८ करोड रुपैयाँ, गल्फ एयरले २ करोड २२ लाख रुपैयाँ, जेट एयरवेजले २ करोड रुपैयाँ, किङफिसर एयरलाइन्सले १ करोड रुपैयाँ, एयर साहरा जेटले ३४ लाख रुपैयाँ पाकिस्तान एयरलाइन्सले २६ लाख रुपैयाँ, बहराइ एयरलाइन्सले २४ लाख रुपैयाँ बुझाएका छैनन् ।

त्यस्तै, राक एयरवेजले १९ लाख रुपैयाँ, हङकङ एक्सप्रेसले १९ लाख रुपैयाँ, लुपथान्स एयरले १० लाख रुपैयाँ, तुइ एयरलाइन्सले साढे ९ लाख रुपैयाँ, वातानिया एयरवेजले ८ लाख रुपैयाँ विमानस्थललाई बुझाएका छैनन् । त्यस्तै, रिजेन्ट एयरवेजले साढे ६ लाख रुपैयाँ, ओरियन्टल थाइ एयरलाइन्सले करिब ६ लाख रुपैयाँ, सिंगापुर एयरलाइन्सले साढे ५ लाख रुपैयाँ, बर्मा एयरवेजले करिब २ लाख रुपैयाँ, जीएमजी एयरलाइन्सले डेढ लाख रुपैयाँ, युनाइटेड एयरवेजले १ लाख रुपैयाँ र अष्ट्रेलियन एयरलाइन्सले ४३ हजार रुपैयाँ विमानस्थललाई बुझाएका छैनन् ।

त्यस्तै सञ्चालनमा रहेका आन्तरिक विमान कम्पनीहरुले पनि ३२ करोड २६ लाख रुपैयाँ बुझाएका छैनन् । जसमा सबैभन्दा बढी सौर्य एयरलाइन्सले १ करोड २५ लाख रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, सिम्रिक एयरलाइन्सले १ करोड, सिता एयरले ४२ लाख रुपैयाँ, श्री एयरलाइन्सले २ लाख ७९ हजार रुपैयाँ, यति एयरलाइन्सले ११ लाख ४० हजार रुपैयाँ, सिम्रिक एयरले ७ लाख ५४ हजार रुपैयाँ, माउन्टेन एयरले ६ लाख २५ हजार रुपैयाँ र तारा एयरले ६ लाख २३ हजार रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ ।

त्यस्तै, सञ्चालन बन्द भइसकेका आन्तरिक विमान कम्पनीहरुले ८ करोड ४३ लाख ७५ हजार रुपैयाँ रुपैयाँ बुझाएका छैनन् । जसमा नेकोन एयर इन्टरनेसनलले ४ करोड ६३ लाख रुपैयाँ, कसमिक एयरले ३ करोड ३३ लाख रुपैयाँ, कर्णाली एयर १६ लाख ६६ हजार रुपैयाँ, नेपाल एयरवेजले ११ लाख ७९ हजार रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ ।

त्यस्तै, स्काइलाइन एयरवेजले ७ लाख ३३ हजार रुपैयाा, गोरखा एयरलाइन्सले ६ लाख ५७ हजार रुपैयाँ, सांग्रिला एयरले २ लाख ३७ हजार रुपैयाँ, एयर नेपालले ७८ हजार रुपैयाँ, अल्पाइन एयरले ७२ हजार रुपैयाँ, गरुण एयरले २७ हजार रुपैयाँ र मुक्ती एयरलाइन्सले २६ हजार रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ ।

विमान कम्पनी मात्रै होइन, सरकारी कार्यालयहरुले पनि विमानस्थललाई बुझाउनु पर्ने ५६ करोड २० लाख रुपैयाँ बाँकी छ भने विमानस्थलमा सञ्चालनरत कार्यालयहरुले भाडावापत बुझाउनुपर्ने ३८ करोड १४ लाख ४४ हजार रुपैयाँ बुझाएका छैनन् । त्यस्तै, विमानस्थलमा पहिले सञ्चालनरत तर अहिले बन्द भइसकेका कम्पनीहरुले समेत १५ करोड ३१ लाख ४२ हजारभन्दा रुपैयाँ रकम बुझाएका छैनन् ।

Publish on: