बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् उद्योगी शेखर गोल्छाले पछिल्लो समय व्यवसायिक वातावरण बिग्रँदै गएको बताएका छन् ।
बाग्लुङ इन्भेस्टमेन्ट टकका मुख्य वक्ता रहेका गोल्छाले सरकारले असल नियतले नियम कानूनहरु बनाएर व्यवस्थित गर्न खोजे पनि एकैपटक गरेकाले समस्या उत्पन्न भएको बताए ।
‘सरकारले कर र बैंक ऋणलगायत धेरै कुरालाई व्यवस्थित गर्न खोजेको छ, तर एकैपटक धेरैवटा नियम कानून लगाउँदा अन्यौलको अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘साना तथा मझौला उद्योग लगाउँछु भन्नेले बैंकबाट ऋण पाउन झन कठिन भएको छ ।’
उनले व्यवसायीहरु केही त्रसित भएका भएको भन्दै यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए । आगामी दिनमा महासंघले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरी विकास गर्नका लागि तीव्र लविङ गर्ने उनले सुनाए ।
बाग्लुङमा लगानीका पर्याप्त सम्भावनाहरु रहेको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारले लगानी र प्रतिफलको ग्यारेन्टी गरे आफू बाग्लुङमा लगानी गर्न तयार रहेको बताए ।
‘बाग्लुङ लगानीका लागि पर्याप्त सम्भावना भएको जिल्ला हो, यहाँ म लगानी गर्न तयार छु,’ गोल्छाले भने ।
SHARE YOUR THOUGHTS