भ्रमण वर्षको उद्घाटनका दिन दीप प्रज्वल गर्न पर्यटनमन्त्रीको आग्रह, यस्तो त उद्घाटनको कार्यक्रम « Eglish Khabarhub

भ्रमण वर्षको उद्घाटनका दिन दीप प्रज्वल गर्न पर्यटनमन्त्रीको आग्रह, यस्तो त उद्घाटनको कार्यक्रम



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोमाबार उद्घाटनबारे जानकारी दिन आयोजित कार्यक्रममा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले सम्पूर्ण तयारी पूरा भएको भन्दै सबैलाई यस अभियानमा साथ दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले नेपालले सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजनामा सबैलाई साथ दिन आग्रह गर्दै जनवरी १ मा देशभर दीप प्रज्वलन गर्न आग्रह गरे ।

मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यस अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ थियो ।

‘अहिले पर्यटन क्षेत्रको जीडीपीमा ३ प्रतिशत मात्रै छ, यसलाई १० प्रतिशत पुर्याउनु पर्छ, यसमा रोजगारीका अनेकन अवसर सिर्जना गर्नुपर्छ त्यसैले भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक ल्याउन सबैले साथ दिनुपर्छ,’ उनले भने ।

‘संख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समूदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौं,’ मन्त्री भट्टराईले भने, ‘२० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुन्छ ? भन्ने प्रश्नलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौं ।’

उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सन्देश दिनेछन् ।

२ करोड रुपैयाँ खर्चमा गर्न लागिएको उद्घाटन कार्यक्रम भव्य बनाउन आफूहरु लागि परेको सचिवालयका संयोजक सुरज बैद्यले जानकारी दिए ।

‘गत सागमा निकै राम्रो उद्घाटन भयो, त्यसले पनि हामीलाई हौसाला दिएको छ, हामी त्योभन्दा पनि राम्रो उद्घाटन गर्ने तयारीमा छौं,’ बैद्यले भने ।

यस्तो छ उद्घाटनको तालिका
काठमाडौंको दशरथ रंगशालामा जनवरी १ अर्थात् पुस १६ गते हुने उद्घाटन कार्यक्रम दिउँसो ३ बजेदेखि शुरु हुनेछ । नेपाल भ्रमण वर्ष सचिवालयले दिएको जानकारी अनुसार ४ बजेसम्म अतिथीहरु आउनेछन् ।

त्यसपछि राष्ट्रिय गान बज्नेछन् । त्यससँगै आत्धात्मिक मन्त्र बाचन गरिनेछ । कार्यक्रममा चलचित्रका नायक राजेश हमालले आफ्नो मन्तव्य दिनेछन् ।

हमाललको मन्तव्यपछि कुटुम्ब ब्यान्डले १०८ वटा सारंगी, १०८ वटा बाँसुरी र १०८ वटा बाद्यवादनमार्फत सांगितिक प्रस्तुती दिनेछन् । कार्यक्रममा नेपाल भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक गरिनेछ । कार्यक्रममा सबै राजनीतिक दलका सदस्यले भ्रमण वर्षबारे बोलेको सानो भिडियो पनि प्रस्तुत गरिनेछ ।

कार्यक्रममा विदेशबाट आएका मन्त्रीहरुले आफ्नो भनाइ राख्नेछन् । साथै सातवटै प्रदेशका मुख्यमन्त्रीसँगै पर्यटन व्यवसायीहरु कर्ण शाक्य, योगेन्द्र शाक्यले दीप प्रज्वल गर्नेछन् । कार्यक्रम साँझ ६ बजेसम्म हुनेछ ।

Publish on: