उखु किसानको आन्दोलनमा महासंघको ऐक्यवद्धता « Eglish Khabarhub

उखु किसानको आन्दोलनमा महासंघको ऐक्यवद्धता



काठमाडौं । राजधानीमा भेला भएर आन्दोलन गरिरहेका उखु किसानको माग सम्बोधन गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

उखु किसानहरुले राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको माग प्रति सरोकारवाला पक्षको ध्यान नगएको प्रति चिन्ता जनाएका छन् ।

विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरुको माग प्रति महासंघको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

एकवर्ष अघि नै किसानलाई उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ ।

उखु किसानहरु महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताए । महासंघले चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह समेत गरेको छ ।

Publish on: