काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेसँगै अर्थमन्त्री डा। युवराज खतिवडा हट्ने सम्भावना बढेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।
सेयर लगानीकर्ताले नरूचाएका अर्थमन्त्री हट्ने हल्लासँगै सेयर बजार उकालो लाग्न थालेको छ ।
साताको पहिलो कारोबार सकारात्मक देखिएको थियो । जसको निरन्तरतामा सोमबार लगानीकर्ता उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ ।
सोमबार नेप्से १८.२६ अंकले बढेर १,२००.६९ बिन्दुमा कारोबार बन्द भएको हो ।
१७८ कम्पनीको २६,८३,६१० सेयर खरिद बिक्री हुँदा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारको आधारमा भने सोमबार एनआइसी एशिया बैंकले अग्रता लिएको छ । बैंकको ८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
त्यस्तै, नेको इन्सोरेन्सको ३ करोड ७० लाख रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ६६ लाख रुपैयाँ र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयरमूल्य ९.९३ प्रतिशतको वृद्धि भएको छ । सो दिन नेको इन्सोरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको प्रतिसेयर मुल्य ४.९४११ प्रतिशतले घटेको छ ।
यसैगरी सोमबार नेप्सेमा सूचीकृत १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक १२.२६ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS