भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न आग्रह गरेका छन् । सल्लाह गरेर नियम बनाएमा नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने उनको तर्क छ ।
नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने– यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गरेमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ ।
उनले भने – सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग गर्छ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नेछन् ।
नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि भएको बताए । साथै उनले त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण भएको स्पष्ट पारे ।
पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन भन्दै उनले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
सरकारी निकाय र विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनले जोड दिए ।
निर्माण व्यावसायीहरुले मात्र समयमा काम नसकेको दोष लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ– उपाध्यक्ष ढकालले भने ।
उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने– नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस ।
उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
SHARE YOUR THOUGHTS