काठमाडौं । नबिल बैंकले राष्ट्रिय स्तरको गरिमा विकास बैंकलाई गाभ्ने विषयमा सेयर बजारमा चर्चा चलेको छ ।
सेयर बजारमा सूचिकृत वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य रहेको र गतवर्ष निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा गर्ने नबिल बैंकले गरिमा विकास बैंकलाई गाभ्नको लागि दुई चरणको कुराकानी समेत सकेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार गरिमा विकास बैंकले नबिलसँग एक्वाएर हुनको लागि ६० को अनुपातको स्वाप मागेको छ ।
नबिल बैंक भने त्यो बराबरको स्वाप दिन तयार रहेको छैन । स्रोतका अनुसार नबिल बैंकका प्रतिनिधिले कफि मिटिङमा गरिमा विकास बैंकलाई बढीमा ४२ सम्म स्वाप रेसियो दिन सकिने प्रस्ताव गरेको थिए । यद्यपी आन्तरिक रुपमा भने गरिमाका प्रतिनिधिहरु नबिलसँग ५० पाएमा जान तयार रहेको बताएका छन् ।
सोमबार सेयर बजारमा नबिल बैंकमा गरिमा विकास बैंक एक्विजेशनमा जान लागेको व्यापाक नै हल्ला थियो । सो अनुसार गरिमा विकास बैंकको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ ।
गरिमा विकास बैंकको सेयर मूल्य २२ रुपैयाँले बढेर २५७ मा पुगेको छ ।
गरिमा विकास बैंकको मूल्य बढेर सर्किट ब्रेक लाग्दा नबिल बैंकको सेयर मूल्य बजार हल्लालाई प्रमाणित गर्ने गरेर घटेको छ । सोमबार नबिल बैंकको सेयर मूल्य १४ रुपैयाँले घटेर ७३८ मा आएको छ ।
‘नबिलसँग एक्विजेशनमा जाने हल्लाको कारण गरिमा विकास बैंकको सेयर मूल्य सोमबार ह्वातै बढ्यो,’एक सेयर ब्रोकरले भने ।
नबिल र गरिमा विकास बैंक दुबैले पुस मसान्तको विवरण भने सार्वजनिक गरेका छैनन् ।
विकास बैंकहरुमा राम्रो नाफा दिनेमा गरिमा विकास बैंक पर्छ । गरिमाको गण्डकी प्रदेशमा राम्रो प्रभाव छ । गतवर्षको नाफाबाट गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनस सेयर तथा ०.८५ प्रतिशत नगद लाभांश दिएको थियो ।
नबिल बैंकले गतवर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिएको थियो ।
असोज मसान्तसम्मको रिपोर्ट अनुसार गरिमा विकास बैंकमा ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप छ भने कर्जा २८ अर्ब २१ करोड रुपैयाँ छ ।
पछिल्लो समय अन्य बैंकले आक्रामक व्यवसाय विस्तार गरेर नम्बर एकको ताज खोसेपछि नबिल बैंक प्रेसरमा छ । उसले राम्रो शुसासनसँग चलेका विकास बैंकहरुलाई मर्जरको लागि प्रस्ताव भने गरिरहेको छ ।
नबिलसँग असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा १ खर्ब ३५ अर्ब रुपैयाँ छ ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल भने सेयर मूल्य बढ्दैमा कुनै बैंकसँग मर्जर तथा एक्विजेशनमा लागेको नहुँने बताए ।
‘अहिलेसम्म हामी कुनैपनि बैंकमा मर्जर तथा एक्विजेशनमा जाने विषयमा केहीपनि टुंगो लागेको छैन,बजारमा आएका हल्ला मात्र हुन्,’उनले क्किलमाण्डूसँग भने ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने सेयर मूल्य बढाउनको लागि नबिललाई विभिन्न बैंकसँग जोडेर हल्ला गर्ने विगतकै प्रचलन अहिले कायम भएको बताउँछन् ।
SHARE YOUR THOUGHTS