मर्जरमा गएपछि नमस्ते वित्तीय संस्थाबाट यसरी डुबे लगानीकर्ता « Eglish Khabarhub

मर्जरमा गएपछि नमस्ते वित्तीय संस्थाबाट यसरी डुबे लगानीकर्ता



काठमाडौं । नमस्ते वित्तीय संस्थाको सेयर मूल्य २०७३ साल असार २० गते प्रतिकित्ता ११२२ रुपैयाँ थियो । सानो कम्पनी त्यसमाथि थोरै पूँजी,  एक्लै चल्न सकेन । तत्कालीन समयमा सेयर मूल्य निकै राम्रो भएपनि संस्थाको दीर्घायुका लागि भन्दै अन्य बैंक तथा वित्तीय संस्थामा गाभिने निर्णय गर्यो ।

नमस्ते वित्तीय संस्था कुनै समयमा निकै नाम चलेको संस्थाको रुपमा रहेको थियो । सन् २०१६ जुलाई ४ (२०७३ साल असार २०) मा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२२ रुपैयाँ रहेको थियो ।

संस्थाले २०७३ पुस पहिलो साता हकप्रद सेयर निश्कासन पनि गर्यो । त्यो समयमा संस्थाले ३ लाख ७५ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । हकप्रद जारी गर्नुअघि संस्थाको चुक्ता पूँजी ३ करोड ७५ लाख रुपैयाँ रहेको थियो । १ः१ अनुपातमा हकप्रद जारी गरेपछि चुक्ता पूँजी ७ करोड ५० लाख पुगेको थियो । २०७४ असार २६ गते विशेष साधारणसभा बोलायो । विशेष साधारणसभामा वेष्टर्न डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने र मर्जरमा जाँदा १ः१ अनुपातको सेयर स्वाप रेसियो अनुमोदन गर्ने विषय रहेको थियो । जुनबेला संस्थाको चुक्ता पूँजी ८ करोड ३२ लाख ४ हजार रुपैयाँ थियो ।

२०७४ असोज २९ गते नमस्ते र वेष्टर्न डेभलपमेन्ट बैंक आपसमा मर्ज भए । दुई संस्था मर्जरमा गएपछि वेस्टर्न डेभलपमेन्ट बैंकको नामबाट सेयर कारोबार भयो । बैंकले संस्थालाई स्वाप रेसियो पनि मागे जति नै दिएको थियो ।

प्रतिकित्ता ११२२ रुपैयाँ रहेको नमस्तेको बजार पुँजीकरण ४६ करोड २० लाख रुपैयाँ थियो ।

नमस्ते वित्तीय संस्था वेष्टर्नमा गाभिनुभन्दा पहिला ११२२ रुपैयाँ सेयर मूल्य भएपनि जब २ कम्पनी एकीकृत रुपमा कारोबार गर्न थाले । एकीकृत कारोबार २०७५ असार २० गतेबाट शुरु भयो । एकीकृत कारोबारपछि प्रतिकित्ता २७१ रुपैयाँमा कारोबार खुल्यो । एकीकृत कारोबार शुरु भएपछि नमस्तेका लगानीकर्ताले प्रतिकित्ता ८५१ रुपैयाँ नोक्सान व्यहोर्नुपर्यो । जुन समयमा नमस्तेको १८० दिनको औसत सेयर मूल्य नै ५३८ रुपैयाँ थियो । त्यो पनि धेरै समय कारोबार हुन पाएन । नमस्ते वित्तीय संस्था वेस्टर्नमा मर्जभएपछि जम्मा एक साता मात्रै सेयर कारोबार भयो ।

जब नेपाल राष्ट्र बैंकले डेभलपमेन्ट बैंकहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दियो । त्यसपति वेष्टर्नलाई देवः विकास बैंकसँग मर्जरमा जाने भयो । मर्जरमा जाने भएपछि एक सातापछि सेयर कारोबार रोक्का भयो । दुवै बैंक २०७६ असार मा मर्जरमा गएका हुन ।

नमस्ते वित्तीय संस्था वेष्टर्न डेभलपमेन्ट बैंक हुँदै देवः विकास बैंकमा पुग्यो । त्यसको केही समयमा नै देवः विकास बैंकलाई कुमारी बैंकले लिने निर्णय गर्यो । कुमारी बैंकले देवः विकास बैंकलाई एक्वाएर गर्ने प्रारम्भिक सहमति अनुसार १००ः८६ को अनुपातमा हो । वेर्ष्टन त देवको रुपमा कारोबार हुन नै नपाई कुमारी बन्ने भएको छ । यसअघि देवः विकास बैंकको १०० कित्ता सेयर हुनेले अब कुमारी बैंकको ८६ कित्ता सेयर पाउने भएका छन् ।

हाल कुमारी बैंकको सेयर मूल्य प्रतिकित्ता १९७ रुपैयाँ  छ । देव विकास बैंकको सेयर मूल्य माघ २ गतेसम्म प्रति कित्ता १५५ रुपैयाँ थियो ।

कुमारीले एक्विजिसन गर्ने भएकाले अहिले देवःको कारोबार रोक्का छ । २०७३ साल असार २० गते ११२२ रुपैयाँ प्रतिकित्ता रहेको नमस्ने वित्तीय संस्था अन्य विकास बैंक हुँदै बैंकसम्म आइपुग्दा त्यसको सेयर मूल्य १९७ रुपैयाँमा झरेको छ ।

यतिबेला नमस्तेका लगानीकर्ता दोहोरो मारमा परेका छन् । नमस्तेका लगानीकर्ताको सेयर वेस्टर्नमा हुँदै देवमा आएपछि देवले उक्त वेस्टर्नको सेयर रि-रजिस्ट्रेसन गर्नु पर्ने हो त्यो अहिलेसम्म पनि हुन सकेको छैन । देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत र बोर्डका कारण अहिलेसम्म उक्त सेयर रि-रजिस्ट्रेसन हुन नसकेको लगानीकर्ताको गुनासो छ ।

Publish on: