२९ मंसिर २०८२, आइतबार

भ्रष्टाचारको आरोप अर्बबाट करोडमा झरेछ, मैले किन चिन्ता गर्नूः सञ्चारमन्त्री बाँस्कोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूमाथि ७० करोड घुस मागेको आरोपको खण्डन गरेका छन् ।

प्रिन्टिङ प्रेस गरिद र स्थापना गर्ने सन्दर्भमा स्वीसको कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ बराबरको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

बिहीबार कन्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले राजनीति गर्नेहरुमाथि यस्ता आरोप आउनू स्वभाविक भएको प्रतिक्रिया दिए ।

‘यस्ता आरोपहरु आउँछन् कहिले भ्रष्टाचारको, कहिले दुराचारको, तर ती प्रमाणित हुनुपर्छ,’ उनले भने ‘खाएको विषमात्रै लाग्छ, नखाएको विष लाग्दैन ।’

आफूमाथि लागेको ७० करोड कमिशन मागेको गम्भीर आरोपलाई उनले हाँसोमा उँडाए ।

‘‘६० कि ७० करोडको कुरा आएको छ, जतिसुकै होस्,’ उनले भने, ‘जे भएपनि आरोप अब अर्बबाट करोडमा आएपछि मैले किन चिन्ता गर्नू ।’

आफूलाई पार्टी, नेता र कार्यकर्तालाई धोका दिनु हुँदैन भन्ने कुरा थाहा भएको उनले प्रष्ट पारे ।

‘नेकपाले भ्रष्टाचार स्वीकार गर्दैन, नेता र कार्यकर्ताले गर्न मिल्दैन, गरेमा पार्टीले भोग्दैन। व्यक्तिले भोग्नु पर्दछ’ उनले भने, ‘वडाध्यक्षदेखि मेयरसम्मले भ्रष्टाचारको आरोप खेप्नु पर्छ, सबै भ्रष्टाचारी हुन् भनेर कुनै निकायबाट प्रमाणित हुनुपर्छ ।’