काठमाडौं । केपी शर्मा ओलीका अन्धभक्त समर्थक हुन् गोकुल बाँस्कोटा । त्यसैले ओली प्रधानमन्त्री भएपछि सञ्चार र शहरी विकास मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सूचना तथा सञ्चारमन्त्री भनेको सरकारको प्रवक्ता पनि हो । प्रवक्ता हैसियतले बाँस्कोटाले नै औपचारिकरुपमा मन्त्रिपरिषदका निर्णयहरु प्रत्येक बिहीबार सार्वजनिक गर्थे ।
तर्क, वितर्क र कुतर्क जे गरेर भएपनि आफ्ना कुरा माथि पार्न माहिर बाँस्कोटा मन्त्रालयभित्र, पार्टीका फोरम र मन्त्रीका हैसियतमा सार्वजनिक सभाहरुमा आफूलाई मन नपरेका व्यक्ति, संस्था र विषयमा ब्यंग्य र तीखा बाँडहरुले प्रहार गर्थे ।
पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारहरुलाई उल्टै थर्काउँथे । मिडिया हाउसका मालिकहरुको खैलोउत्तार गर्थे । बाँस्कोटाले अभिव्यक्ति देनि क्रममा नयाँ-नयाँ शब्दहरु प्रयोग गर्थे । उनले प्रयोग गरेका शब्दहरुको आलोचना मात्रै हुँदैन थियो ।
सामाजिक सञ्जालहरुमा भाइरल पनि भएका छन् । विभिन्न ट्रोलहरु नै बनेका छन् ।
बाँस्कोटाले मन्त्री भएपछि सार्वजनिकरुपमा बोलेको ‘सरकारलाई हेप्ने ?’ भन्ने शब्द यो वर्षकै सर्वाधिक भाइरल शब्द भयो । सरकारको आलोचना गर्नेहरुमाथि कटाक्ष गर्दै मन्त्री बाँस्कोटाले ‘दुईतिहाई प्राप्त सरकार हो, कमजोर ठान्ने, हेप्ने ?’ भनेका थिए ।
अघिल्लो दशैंछेक संसदको विकास तथा प्रविधि समितिको बैठकमा बाँस्कोटाले पत्रकारहरुले सरकारको आलोचना गरेको प्रसंग निकाल्दै कटाक्ष गरेका थिए,‘ दसैं आएको छ पत्रकार साथीहरु पैसा लिन आए हुन्छ’ भनेका थिए ।
सञ्चारमन्त्रीले नै यस्तो शब्द प्रयोग गरेकोप्रति पत्रकारहरुले घोर आपत्ति जनाए । यदपि बाँस्कोटा सुध्रिनतिर लागेनन् । झन्झन् गालीगलौज र तीखा बाँडजस्ता शब्दहरु प्रयोग गर्न थाले ।
विदेशतिर पत्रकारलाई करोडौं जरिवाना हुने गरेको गलत उदाहारण दिँदै मन्त्री बाँस्कोटाले सरकारको आलोचना गर्ने पत्रकारहरुलाई तह लगाउन भन्दै ‘मिडिया विधेयक’ समेत बनाएका थिए ।
केही साता अघिको मात्रै कुरा हो सिजी टेलिकमलाई २० अर्ब तिरेर प्रक्रिया पूरा गरेपछि मात्रै लाइसेन्स दिने अभिव्यक्ति दिएका थिए ।
यस विषयमा पत्रकारले सोधेको प्रश्नमा बाँस्कोटाले भनेका थिए, ‘‘मैले २० अर्ब रुपैयाँ आफ्ना लागि मागेको होइन, मेरो घरमा त्यत्रो धेरै पैसा राख्ने ठाउँ पनि छैन, सरकारलाई तिर्ने पैसा हो, सिजीका मालिकहरु भाग्मानी हुनुहुन्छ, अरुले कम्पनी स्थापना गर्दा जोखिम मोल्नुपर्छ, तर उहाँलाई सरकारलाई ऋण काढेर दिएको छ ।’
नेपाल टेलिकमको वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले कर्मचारीहरुलाई भ्रष्टमन्त्री चाहिएको हो ? भन्दै प्रश्न गरेका थिए ।
भारतले सीमाना मिचेर नक्सा सार्वजनिक गरेको विषयमा पत्रकारले सोधेको प्रश्नमा बाँस्कोटाले भनेका थिए, ‘यो सामान्य विषय हो, यस्ता झिना मसिना कुरामा सरकार अल्झिँदैन ।’
एउटा पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भनेका थिए ‘एउटा कुरा राम्ररी बुझ्नुभए हुन्छ, यो दुईतिहाइको सरकार सिमलको भुवा होइन् । यसो खस्ने कता जाने कता जाने टुंगो नभएको ।’
त्यसैगरी, अर्को पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी कांग्रेसलाई लक्षित गर्दै भनेका थिए, ‘आफूले मनपरी गर्न पाउँदा हाइहाई डेमोक्रेसी भन्ने, अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने ? यो कदापि हुन्न, विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।’
नेकपाकै नेतृ तथा सांसद रामकुमारी झाँक्रीले एक अन्तर्वार्तामा सञ्चारमन्त्री बाँस्कोटा नेपाल टेलिकमको फोरजी विस्तारमा १२ अर्बमा मुछिएको बताउँदै संसदीय समितिमा यो प्रकरणलाई उठाएकी थिइन् ।
‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, मन्त्रीबाटै भ्रष्टाचार भइरहेको भण्डाफोर गर्दै उनले भनेकी थिइन् ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु ।’
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘तपाईले १२ अर्ब भ्रष्टाचार गरेको भन्नेबारे समाचार आएको छ, नेताहरु पनि बोलेका छन्, सत्य के हो स्पष्ट बताइदिनुस्’ भनेर प्रश्न गरेका थिए।
१२ अर्ब भ्रष्टाचारको प्रश्न आउने वित्तिकै पत्रकार सम्मेलनमै मन्त्री बाँस्कोटा झोक्किएका थिए।
‘तपाईहरुले सोधिहाल्नुभयो’ भनेर प्रष्टिकरण दिँदै गए, ‘१२ अर्ब हैन १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जे सजाय भोग्नुपर्छ त्यो सम्पूर्ण भोग्न तयार छु, त्यसकारण अफवाहको पछाडि लाग्नुपर्ने कारण छैन।’
नाम चलेका विदेशी निकाय सिआइए, एजिबी, एम सिक्स ल्याएर छानविन गरे पनि मलाई कुनै परवाह नहुने भन्दै उनले भनेका थिए ‘यस्ता गलत, अर्थहिन, बेकुप तरिकाको जवाफ दिनुपर्छ भन्ने ठान्दिन।’
राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले मिडियाको धोती फुस्केको भन्दै, भनेका थिए, ‘आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याउँ, ख्याउँ, अचम्म लाग्छ ।’
मिडिया आफ्नै समाचारका कारण लज्जित हुदैँ गएको दाबी गर्दै बाँस्कोटाले भनेका थिए, ‘प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् ।’
अघिल्लो मंसिरमा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले मिडियालाई ‘फेक न्युज प्रोडक्सन कम्पनी’ को संज्ञा दिँदै भनेका थिए, ‘कतिपय मिडियाचाहिँ खै किन हो, मास कम्यिुनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेका हुन् कि जस्तो लाग्छ ।’
प्रायजसो सञ्चारकर्मीको प्रश्नमा उनी सँधै आक्रोशित हुन्थ्यो । ‘मिडियाको अस्तित्व नै खतरामा रहेको’ घोषणा गर्दै अल्लिो २९ कात्तिकमा मिडिया र पत्रकारलाई बाँस्कोटाले ‘खोज पत्रकारिता गर्न चुनौति’ समेत दिएका थिए ।
अर्को पत्रकारसम्मेलनमा बाँस्कोटाले भनेका थिए ‘खोजी पत्रकारिता भनेको मन्त्रिपरिषद्को कार्यालयअघि क्यामेरा तेर्साउने, रेकर्डर तेर्साउने मात्रै हो र ?’
त्यसो त प्रधानमन्त्री केपी ओली पनि तीखा शब्द प्रयोग गरेर कटाक्ष गर्न निकै खप्पीस छन् । ठ्याक्कै ओलीजस्तै छन् बाँस्कोटा पनि ।
बाँस्कोटा नेकपा र सरकारभन्दा पनि प्रधानमन्त्री ओलीको प्रतिरक्षा बढी गर्थे ।
प्रिन्टिङ प्रेस खरिद तथा स्थापनाको विषयमा स्वीस कम्पनीको स्थानीय एजेन्टसँग ७० करोड रुपैयाँ कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको २४ घन्टा नवित्दै बाँस्कोटाले नैतिकताका आधारमा राजिनामा दिएका छन् ।
आफ्ना अतिनै विश्वासपात्र मानिने बाँस्कोटाको अपमानजनक बहिर्गमनले प्रधानमन्त्री ओलीलाई समेत आफ्नो डिफेन्स गर्नसक्ने शशक्त मान्छेको खाँचो देखिएको छ । त्यतिमात्रै होइन, प्रधानमन्त्री ओली पनि नैतिक संकटमा परेका छन् ।
SHARE YOUR THOUGHTS