३० मंसिर २०८२, सोमबार

आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा हुने, अन्तर्राष्ट्रिय सम्मेलनले ढिलाई भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुनको पहिलो साता भित्रमा सार्वजनिक गरिने भनिएको मौद्रिक नीति अर्धवार्षिक समीक्षा अझै पछि सरेको छ । सामान्यतया अर्थ मन्त्रालयले बजेटको अर्ध वार्षिक समीक्षा गरेको साता नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्ने गरेको थियो ।

अघिल्लो साता बुधबार नै अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समिक्षा गरिसकेको छ । तर राष्ट्र बैंकले भने २ साता बितिसक्दा समेत मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्न सकेको छैन ।

राष्ट्र बैंकले आगामी बिहिबार र शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलन आयोजना गरेको छ । सम्मेलनको तयारीले गर्दा अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक हुन ढिलो भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिमाण्डूलाई बताए ।

‘सम्मेलनको दिन नजिकै भएकोले सबै जना त्यसैको तयारीमा जुटेका छौँ’ उनले भने ‘सरोकारवालाहरुले दिएको सुझावलाई पनि समेटेर मौद्रिक नीति अर्ध वार्षिक समिक्षा गर्नु पर्ने हुदाँ अझै केही दिन ढिलो हुन्छ ।’

राष्ट्र बैंक सञ्चालक समीतिले अर्ध वार्षिक समीक्षाको मिति अहिलेसम्म तय नगरेको हुदाँ सम्भवत अन्तर्राष्ट्रिय सम्मेलनपछि नै मौद्रिक नीति अर्धवार्षिक समिक्षा सार्वजनिक हुने उनको भनाइ छ ।

राष्ट्र बैंक मुलुकको मौद्रिक तथा वित्तीय व्यवस्थापन गर्ने निकाय भएको हुँदा सबै क्षेत्रले यसले ल्याउने नयाँ नीति निर्देशनको प्रतिक्षा गर्ने हुदाँ यस्ता कार्यक्रमहरु समयमा नै गर्नु पर्ने डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष गोविन्द ढकालको भनाइ छ ।

‘राष्ट्र बैंकले कस्तो नयाँ निर्देशन देला र सोही अनुसार व्यवसाय गर्ने भनेर बैंकिङ क्षेत्र प्रतिक्षारत छन्’ उनले भने ‘ढिला गरिएको निर्देशन समयमा कार्यन्यवन गर्न गाह्रो हुन्छ ।’

अघिल्ला वर्षहरुको अर्ध वार्षिक मौद्रिक नीति समीक्षा धेरै नीति निर्देशन परिमार्जन, संशोधन हुने भएकाले यस वर्षपनि त्यस प्रकारका संशोधित नीति निर्देशनहरु राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत समयमा नै गर्नुपर्ने उनको भनाइ छ ।