काठमाडौं । चौतर्फी विरोध र राष्ट्र बैंकको निर्देशनपछि एभरेष्ट बैंकले ऋणीसँग कमिशन नलिन सबै शाखाहरुलाई निर्देशन दिएको छ । बैंकले आइतबार आन्तरिक परिपत्र जारी गर्दै ऋणीसँग कमिशन नलिन प्रदेश कार्यालयमार्फत देशभरका शाखालाई निर्देशन दिएको हो ।
बैंकले डेढ महिनादेखि ऋणीसँग नियमबिपरित कमिशन लिँदै आएको थियो ।
बैंकले ऋणीलाई ब्याजदर घटाउने घोषणा गरेको थियो । तर त्यसका लागि सावाँको १ प्रतिशत कमिशन दिएमात्रै घटेको ब्याजदर लागू गर्ने भन्दै देशभरका ऋणीबाट यसरी कमिशन लिँदै आएको थियो ।
एभरेष्ट बैंकले नियमबिपरित ऋणीसँग कमिशन लिएर ठगी गरेको बारे क्लिकमाण्डूले समाचार सम्प्रेषण गरेको थियो ।
एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ
क्लिकमाण्डूले समाचार लेखेपछि राष्ट्र बैंकले एभरेष्ट बैंकका उच्च व्यवस्थापनलाई बोलाएर गत बिहीबार ऋणीसँग कमिशनल लिने काम तत्कालै बन्द गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकले ऋणीसँग अतिरिक्त शुल्क लिने काम बन्द गरेको हो ।
‘आइतबार केन्द्रिय कार्यालयबाट अतिरिक्त शुल्क लिने काम रोक्नू भन्ने परिपत्र आएको छ,’ बैंकका एक प्रदेश कार्यालय प्रमुखले क्लिकमाण्डूसँग भने, ‘हामीले यसैअनुसार शाखाहरुलाई मौखिक निर्देशन दिइसकेका छौं ।’
ती प्रदेश कार्यालय प्रमुखका अनुसार गत माघम केन्द्रिय कार्यालयले ट्रम्स एण्ड कन्डिसनको नाममा ऋणीलाई साँवाको १ प्रतिशत शुल्क लिएर ब्याजदर घटाइदिनु भनेर निर्देशन आएको थियो । र, सोही अनुसार देशभरका शाखाले ऋणीसँग साँवाको १ प्रतिशत शुल्क लिएर ब्याज घटाइरहेका थिए ।
क्लिकमाण्डू प्रभावः ऋणीसँग अतिरिक्त शूल्क नलिन एभरेष्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन
केन्द्रिय कार्यालयबाट शुल्क नलिनु भन्ने निर्देशन आएपछि अतिरिक्त शुल्क लिने काम बन्द गरिएको उनले जानकारी दिए ।
काठमाडौं उपत्यका र मोफसलका केही ब्राञ्च म्यानेजरहरुलाई बुझ्दा पनि उनीहरुले मौखिक निर्देशन पाएको जानकारी दिए ।
लिएको शुल्क फिर्ता हुन्छ कि हुँदैन ?
बैंकले ब्याजदर घटाइदिने भन्दै सयौं ऋीणीसँग सावाँको १ प्रतिशत शुल्क लिइसकेको छ । देशभरबाट झन्डै ३ दर्जन ऋणीले आफूसँग बैंकले कमिशन लिएको भन्दै क्लिकमाण्डूलाई जानकारी गराएका छन् ।
हामीले यसबारे राष्ट्र बैंकलाई सोधेका थियौं । बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुका अनुसार सो विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले एभरेष्ट बैंकका सीइओलाई बोलाएर लिएको कमिशन फिर्ता गर्न निर्देशन दिने हो भने फिर्ता हुने बताउँछन् ।
‘अहिलेका लागि हामीले कमिशन लिन रोकेका छौं, देवकुमार सरले कडा निर्देशन दिने हो भने लिएको कमिशन पनि फिर्ता हुन्छ,’ एक निर्देशकले भने ।
अन्य बैंकहरुले पनि यसरी जथाभावी शुल्क असूल्ने गरेको गुनासो आएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘आगामी मौद्रिक नीतिमा यस विषयलाई नीतिगत रुपमै सम्बोधन गर्छौं,’ ती निर्देशकले भने ।
SHARE YOUR THOUGHTS