काठमाडौं । डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । नोटको कारोबारबाट कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएपछि डिजिटल माध्यमबाट हुने कारोबार निःशुल्क बनाउन लागिएको हो ।
डिजिटल बैंकिङ कारोबारलाई निःशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन गर्न राष्ट्र बैंकलाई पनि भनेको छ ।
पैसाबाट पनि सर्न सक्छ कोरोना भाइरस, चीनले नष्ट गर्यो ८४ हजार कराेड
सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि बैंकको काउन्टरमा हुने ग्राहकको भिड कम गर्नका लागि डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्नुपर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
‘काउन्टरमा भिड बढ्दा र पैसाको कारोबार गर्दा संक्रमणको उच्च जोखिम हुन्छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘हामीले सम्पुर्ण तयारी गरिसकेका छौँ ।’
राष्ट्र बैंकसँग शुक्रबार बिहान छलफल गरिने उनले जानकारी दिए । छलफलपछि राष्ट्र बैंकले परिपत्रमार्फत् कोरोना भाइरसको संक्रमण सम्म नहुदाँसम्म डिजिटल माध्यमबाट हुने कारोबार निःशूल्क गर्ने दाहालले जानकारी दिए ।
कोरोना संक्रमणका कारण अन्य क्षेत्रका संघ सस्थाहरु बन्द गरे पनि बैंकिङ क्षेत्र भने बन्द नहुने उनले बताए ।
‘आर्थिक कारोबार जति नै ठूलो संक्रमण भए पनि रोकिदैन,’ उनले भने ‘बैंकिङ कारोबार केही सुस्ताउला तर बैंक बन्द हुँदैन ।’
संक्रमणको जोखिम बढेमा कार्यालयमा कर्मचारीको संख्या आवतजावत कम गर्ने उनको भनाइ छ ।