२९ मंसिर २०८२, आइतबार

एशियाली विकास बैंकसँग अर्थमन्त्री खतिवडाले सहयोग मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा एशियाली विकास बैंकलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले कोरोना बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरेको बताए ।

उनले कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवं व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एंव ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने भएकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन् ।

अर्थमन्त्री खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच बुधबकार टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा खतिवडाले यस्तो आग्रह गरे ।

खतिवडाले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता प्रदान गर्न लागेकोमा खुसी व्यक्त गरे ।

खतिवडाले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा गरे ।

नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोरोनाको नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोरोनाका कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवा प्रवाहजस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराए ।