काठमाडौं । कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको भनिएको पर्यटन क्षेत्र उकास्नका लागि नीति तथा कार्यक्रममा ठोस कार्ययोजना ल्याइएको छैन ।
शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन क्षेत्रमा कोभिडले पारेको प्रभाव र बाह्य कारणले पार्ने प्रभावको अध्ययन गरी पुनरुत्थानका लगायतको दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने बताइन् ।
तर त्यसका लागि कुनै ठोस कार्यक्रम के गर्ने उल्लेख छैन ।
नीति तथा कार्यक्रममा आगामी वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने कुरा दोहोर्याइएको छ । यो पनि नयाँ कार्यक्रम होइन । केही हदसम्म सकिएको काम पनि हो ।
त्यस्तै, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्ने मिति गत वर्ष नै थियो । पुस महिनामा सम्पन्न गरी चाबी हस्तान्तरण गर्ने भनिए पनि त्यसमा थप तीन महिना थपिएको थियो । थप भएको तीन महिनाको म्याद गत मार्च महिनामा सकिँदै थियो तर त्यही समयमा कोरोनाका कारणले कार्यक्रम प्रभावित भएको छ । यसअर्थमा यो यो विमानस्थल निर्माणको काम एक वर्ष पर धकेलिएको छ ।
साथै नीति तथा कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गनरी सञ्चालनको पूर्व तयारी गरिनेछ भनि उल्लेख गरिएको छ । अहिले यहाँ लकडाउनको समयमा पनि काम भइरहेको छ ।
त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शुरु गर्ने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन । सरकारले हालै मात्रै विमानस्थल निर्माणका लागि ४२ सय वटा रुख काट्नका लागि स्वीकृती माग गरेको छ भने जुरिज इन्टरनेसनलसँग सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
आगामी वर्ष २ वर्ष आन्तरिक विमानस्थल निर्माण सम्पन्न गर्ने भनिएको छ । भने तीन वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्रीको जन्मथलो तेह्रथुप जिल्लाको चुहानडाँडा र काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गरिने पनि उल्लेख छ । यी दुई कार्यक्रम पनि नयाँ होइनन् ।
नीति तथा कार्यक्रममा पहाडी र हिमाली जिल्लामा अत्याधुपिनक सुविधासहितका हिल स्टेसन निर्माण, पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टको पूर्वाधार विकास गर्न प्रोत्साहित गरिने उल्लेख छ । त्यस्ता होटल तथा रिसोर्टमा अर्गानिक कृषि उत्पादनका ठूला फार्म सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने उल्लेख छ ।
अहिले हिल स्टेसन कतिपय ठाउँमा सम्भाव्यता अध्ययन भइरहेको छ भने केही स्थानमा काम शुरु गर्ने तयारी पनि छ ।
त्यसैगरी हवाई उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक कार्यका लागि छुट्टाछुट्टै संस्थागत व्यवस्था गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । यसका लागि अहिले संसदमा विधेयक पारित हुने प्रक्रियामा छ । लामो समयदेखि चलिरहेको विवाद अब समाधान हुने अन्तिम तयारीमा भएको देखिएको छ ।
साथै लुम्बिनीमा निर्माण भइरहेको ५ हजार व्यक्ति अट्ने ध्यान केन्द्र तथा सभा हलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र लुम्बिनीको विस्तार गर्न बृहत्तर लुम्बिनीको अवधारणा कार्यान्वयनमा ल्याउने उल्लेख छ । यो पनि विगतदेखि कै कार्यक्रम हो ।
साथै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ भने नेपालदको भाषा, साहित, कला, सस्कृति र सम्पदाको संरक्षण र सम्बद्र्धन गरिने र प्रतिलिपि अधिकार प्रत्याभूत गरिने उल्लेख छ ।
SHARE YOUR THOUGHTS