काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको असर देखाएर बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा कामदार हटाउन नहुने बताएका छन् ।
कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेका कारण र राष्ट्र बैंकले बैंकहरुलाई कोरोना प्रभावितलाई राहत दिएका कारण नाफामा असर पर्ने भन्दै केही बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कर्मचारी हटाइरहेका बेला उनले यस्तो बताएका हुन् ।
‘यो कठिन परिस्थितिमा बैंकिङ क्षेत्रमा कार्यरत एकजना पनि कर्मचारी र कामदारले जागिर गुमाउने अवस्था आउन दिँदैनौं,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने- ‘हामीले कोरोनाले अति प्रभावित साना तथा मझौला उद्योगमा कार्यरत कर्मचारीले समेत रोजगारी नगुमाउन भनेर काम गरिरहेको अवस्थामा बैंकिङ क्षेत्रले कर्मचारीलाई बेरोजगार बनाउने काम गर्ने छैन ।’
राष्ट्र बैंकले यस विषयमा छलफल गरिरहेको र बिहीबारमात्रै कामदारलाई जागिरबाट नहटाउन निर्देशन जारी गरिसकेको उनले जानकारी दिए ।
समयावधि बाँकी हुँदै करारका कर्मचारीलाई राजीनामा दिन एनआइसी एशिया बैंकको दबाब
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालले बैंकहरुलाई यस्तो निर्देशन दिएका थिए ।
यो अवस्थामा कर्मचारी हटाउने बैंकलाई आगामी २ वर्षसम्म नयाँ कर्मचारी भर्ना गर्न रोक लगाउने भन्दै राष्ट्र बैंकले यसअघि नै निर्देशन पनि दिइसकेको छ ।
यस्तो कठिन परिस्थितिमा बैंक तथा वित्तीय संस्थाजस्ता जिम्मेवार संस्थाले काम गरिरहेका व्यक्तिलाई मानवीय संवेदनशीलताका हिसाबले पनि जागिरबाट हटाएर बेरोजगार बनाउनु नहुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।
‘बैंकका सीइओ साहेबहरु लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ, उहाँहरुको विज्ञता पनि ठूलो छ,’ भट्टले भने- ‘अहिलेको जटिल परिस्थितिलाई ध्यानमा राख्ने हो भने हामीले कसरी एकले अर्कालाई सहयोग गर्ने भन्ने बेला छ ।’
अहिलेको पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा र दोस्रो प्राथमिकता जीवन निर्वाह गर्ने भएको उनको भनाइ छ ।
कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने
‘कोरोनाले अतिप्रभावित गरेका होटेल, पर्यटन र निजी क्षेत्रमा कार्यरत कर्मचारीले समेत रोजगारी गुमाउनु हुँदैन भनेर राज्यले चासो राखिरहेको छ,’ उनले भने, ‘त्यसैले बैंकिङ क्षेत्रमा भएका कर्मचारीहरुलाई अहिलेको असाधारण परिस्थितिमा उनीहरुको जिवन चलाउने अवस्थामा असर गर्नु हुँदैन ।’
अफ्ठ्यारो पर्दा एकले अर्कालाई सहयोग गर्ने नेपालीहरुको संस्कार पनि भएको र बैंकहरु निकै संस्कारी रहेको भट्टको विश्वास छ ।
बैंकहरुले कामदारलाई जागिरबाट निकाल्न थालेको अवस्थामा राष्ट्र बैंकले केही न केही एक्सन लिने उनले जानकारी दिए ।
कामको चाप बढेपछि बैंकहरुले ३ महिनादेखि १ वर्षसम्म करारमा राखेर काम लगाउँदै आएका छन् ।
अहिले बैंकिङ क्षेत्रमा करिब १ लाख कर्मचारी छन् । जसमध्ये करार र आउटसोर्सिङ गरेर करिब ३० प्रतिशत अर्थात् ३० हजार कर्मचारी छन् ।
करार र आउटसोर्सिङमा कार्यरत कामदारमध्येबाट करिब ३० प्रतिशत कटौति हुनसक्ने बैंकरहरु बताउँछन् । यसरी हेर्दा बैंकिङ प्राणलीबाट १० हजारले जागिर गुमाउने देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । कुल कर्मचारीको संख्या ६८ हजार ४ सय बढी छ । जसमध्ये ४ हजारको हाराहारीमा करारमा राखिएका कर्मचारी छन् ।
बैंकिङ कारोबार सम्बन्धी काम गर्ने कर्मचारी बाहेक बैंक वित्तीय संस्थामा सुरक्षा गार्ड, सरसफाई गर्ने र सवारी चालक आउट सोर्सिङ गरिएको हुन्छ ।
एउटा शाखामा औषतमा ३ जनाका दरले आउट सोर्सिङ गरेर कामदार राखिएको मान्न सकिन्छ । यसरी हेर्दा यस प्रकारका कामदारको संख्या ३० हजारको संख्या हुन जान्छ । उनीहरुमध्ये कतिपयको जागिर गुमिसकेको छ भने कतिपयको गुम्ने निश्चित छ ।
SHARE YOUR THOUGHTS