माउन्टेन बाइकका लागि बन्दीपुरमा साइकल लेन « Eglish Khabarhub

माउन्टेन बाइकका लागि बन्दीपुरमा साइकल लेन



बन्दीपुर । चिटिक्क ढुङ्गा चिटेको बाटो । परम्परागत भक्तपुरे नेवारी शैलीका घर । हरियाली वातावरण । फराकिलो हिमश्रृङ्खलाको अवलोकन । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यजस्ता विविध विशेषताले निपुर्ण तनहुँको बन्दीपुरले ‘पहाडकी रानी’को उपमा पाएको छ ।

सुन्दर बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिने भएको छ। माउन्टेन बाइक प्रेमीलाई मध्यनजर गर्दै बन्दीपुर गाउँपालिकाले साइकल लेन बनाउन शुरु गरिसकेको छ ।

बन्दीपुर साइकल लेन नाम दिइएको बाटो रामकोटबाट बन्दीपुर हुँदै बाहुन भञ्ज्याङ्सम्म पुग्नेछ। ९ किलोमीटर लम्बाइ रहेको साइकल लेनको औसत चौडाइ डेढ मिटर रहने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए।

निर्माणाधीन साइकल लेनको करिब ४ किलोमिटर काम सम्पन्न भएको छ। अनुमानित लागत ८ लाख ५० हजार रुपैयाँ रहेकोमा प्रधानमन्त्री स्वरोजगार कोषबाट ६ लाख ५० हजार र गाउँ पालिकाको श्रममा आधारित कोभिड १९ राहत कार्यक्रम बाट २ लाख बिनियोजन गरिएको थापाले जानकारी दिए।

रामकोट बाट मुकुन्देस्वरी डाँडाको उत्तरी मोहोडा हुँदै बन्दिपुर बजार आइपुग्ने साइकल लेन टुँडिखेल(बौद्ध गुम्बा बाट रानीबनको उत्तरी मोहोडा हुँदै बाहुन भञ्ज्याङ् पुग्नेछ। उक्त साइकल लेनबाट फराकिलो हिमशृङ्खला सँगै विभिन्न मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिने छ।

साइकल लेनले फरक भूगोल मात्र नभई फरक संस्कृतीलाई पनि जोड्नेछ। मगर संस्कृतीको धनी रामकोटमा परम्परागत घुमाउने घर समेत छन्। बन्दीपुर बजारको नेवार समुदायमा डोको नाच, पुतलिको बिहे लगायत नेपालमै अनौठा साँस्कृतिक परम्परा छन्।

साइकल लेनको अन्तिम बिन्दु बाहुन भञ्ज्याङ् सँगैको कोरिखा गाउँ गुरुङ सँस्कृती जोगाइ राखेको ठाउँ हो।

साइकल प्रेमीसँगै एकदिने हाइकिङ गर्न चाहनेलाई पनि उक्त बाटो उपयुक्त हुने बन्दीपुर पर्यटन बिकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन्। रानीबनमा जंगली कन्दमुल खाँदै हिँड्नुको मजा अर्कै हुने प्रधान बताउँछन्।

Publish on: