काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्डलाई नेपालको पुँजी बजार खोल्ने वा बन्द गर्ने भन्ने आफ्नो चासोभन्दा बाहिरको विषय भएको बताएको छ ।
धितोपत्र बोर्डले राष्ट्र बैंकलाई पठाएको पत्रकोे जवाफमा राष्ट्र बैंकले बोर्डलाई मौद्रिक नीतिमा के राख्ने के नराख्ने आफ्नो विषय भएको जवाफ दिएको हो ।
धितोपत्र बोर्डले आफ्नो माग पुरा नभएसम्मको लागि बजार नखोल्ने भने पनि राष्ट्र बैंकले भने आफू बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय भएकोले के गर्दा उपयुक्त हुन्छ त्यो गर्ने र सेयर बजार खोल्ने नखोल्ने भन्ने विषय आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको रहेको जवाफ पठाएको छ ।
धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलले सेयर धितोमा प्रवाह गर्ने कर्जामा सेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरेको र अब त्यो सिमा बढाएर ७५ प्रतिशत पुर्याउन निर्देशन दिन आग्रह गरेको थियो ।
यस्तै मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा १० प्रतिशतभन्दा बढी मूल्य घटेको अवस्थामामात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न बैंकलाई निर्देशन दिने सुझाव दिएको थियो ।
राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमा कति पुर्याउने भन्ने कर्जाको भार हेरेर आवश्यकताका आधारमा निर्णय गर्ने भनेको छ । राष्ट्र बैंकले समग्र वित्तीय क्षेत्र हेरेर मौद्रिक नीति ल्याउने समेत जानकारी गराएको छ ।
बोर्डले राष्ट्र बैंकलाई सेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने भन्दै बोर्डले राष्ट्र बैंकलाई भनेको थियो ।
यस्तै विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने पनि बोर्डले राष्ट्र बैंकलाई पठाएको सुझावमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदरभन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने सुझावमा उल्लेख छ ।
राष्ट्र बैंकले बोर्डको सुझावको विषयमा जवाफ पठाइसकेको भनेपनि धितोपत्र बोर्डको प्रवक्ता निरज गिरीले आफूले पत्र नपाएको बताएका छन् ।
SHARE YOUR THOUGHTS