काठमाडौं । लकडाउनमा आंशिक शाखा कार्यालय सञ्चालन भए पनि बैंक तथा वित्त कम्पनीहरुको सञ्चालन खर्च भने १२.७२ प्रतिशतले वृद्धि भएको छ ।
लकडाउनले गर्दा बैंक तथा वित्त कम्पनीहरुले आंशिक शाखा कार्यालय खुल्ला गरेर सेवा दिएका भएपनि गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको तुलनामा २ खर्ब ८५ करोड रुपैयाँ २० लाख रुपैयाँले बढेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । यस अवधिमा बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत रहेर सेवा प्रवाह गरेका थिए ।
तर बैंक तथा वित्त कम्पनीहरुले लकडाउन पछि बैशाख मसान्तसम्म आंसिक शाखामात्र खुल्ला गरेर सेवा दिएका थिए ।
आंशिक शाखा कार्यालयहरु मात्र खुल्ला गरेर सेवा दिएको भएपनि बैंक तथा वित्त कम्पनीहरुको कार्यालय सञ्चालन खर्च भने पूर्णरुपमा कार्यालय खुल्ला हुँदाको भन्दा १२.७२ प्रतिशतले बढेको छ ।
कारोना भाइसरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जेठ ३२ गतेसम्म लकडाउन गरको थियो ।
अत्यावश्यक सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले लकडाउनमै पनि आंशिक सेवा प्रदान गर्दा पनि कार्यालय सञ्चालन खर्च भने साविककैजस्तै गरी वृद्धि भएको छ ।
गत आर्थिक वर्षको बैसाख मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुको सञ्चालन खर्च २२ अर्ब ४१ करोड ८० लाख रुपैयाँ थियो । जुन २ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेर २५ अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।
यसैगरी लकडाउनको २ महिनामा मात्रै पनि बैंक तथा वित्त कम्पनीहरुको सञ्चालन खर्च २४.७१ प्रतिशतले बढेको छ ।
चालु आवको फागुन मसान्तसम्ममा २० अर्ब २६ करोड २० लाख रुपैयाँ सञ्चालन खर्च रहेकोमा लकडाउनको अवधिमा चैत र बैशाख मसान्तसम्ममा बैंक वित्त कम्पनीहरुको सञ्चालन खर्च ५ अर्ब ८० लाख रुपैयाँले बढेर कुल २५ अर्ब २७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
लकडाउन शुरु भएसँगै बैंक तथा वित्तीय कम्पनीहरुले शाखाहरु आलोपालो प्रणालीमा सीमित कर्मचारीबाट मात्रै आंशिक रुपमा सञ्चालन गरेका थिए । यसबीच दैनिक ३ घण्टामात्रै बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंक तथा वित्त कम्पनीले सेवा दिएका थिए ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्त कम्पनीको खर्च गत आवको चैत मसान्तको तुलनामा चालु आवको चैत मसान्तमा १८.०७ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको चैत मसान्तमा यस्तो खर्च १९ अर्ब ७३ करोड ८० लाख रुपैयाँ रहेको थियो । जुन चालु आवको सोही अवधिमा ३ अर्ब ५६ करोड ७० लाख रुपैयाँले बढेर २३ अर्ब ३० करोड ५० लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, गत आवको बैशाख मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कार्यालय सञ्चालन खर्च १२.७२ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको बैशाख मसान्तमा २२ अर्ब ४१ करोड ८० रुपैयाँ रहेकोमा २ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेर २५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको बैशाख मसान्तको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको सञ्चालन खर्च १३.०३ प्रतिशत अर्थात् २ अर्ब ५३ करोड ७० लाख रुपैयाँ, विकास बैंकहरुको ८.०४ प्रतिशत अर्थात् २४ करोड १० लाख रुपैयाँ र वित्त कम्पनीहरुको ११.४५ प्रतिशत अर्थात् ७ करोड ५० लाख रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको बैशाख मसान्तसम्म कुल कार्यालय सञ्चालन खर्च वाणिज्य बैंकहरु १८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा २१ अर्ब ३० करोड ४० लाख रुपैयाँ पुगेको छ ।
यस्तै, गत आवको बैशाख मसान्तसम्म २ अर्ब ९९ करोड ४० लाख रुपैयाँ विकास बैंकहरुको कार्यालय सञ्चालन खर्च रहेकोमा चालु आवको सोही अवधिमा ३ अर्ब २३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
साथै वित्त कम्पनीहरुको गत आवको बैशाख मसान्तसम्म ६५ करोड ५० लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ७३ करोड रुपैयाँ पुगेको छ ।
किन बढ्यो त सञ्चालन खर्च ?
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले सञ्चालन खर्च बढ्नुको कारण बताउँदै भने, ‘बैंक तथा वित्त कम्पनीले केन्द्र सरकारले स्थापना गरेको कोरोना कोषमा रकम जम्मा गर्दा थप व्यय थपिएको हो, साथै डिप्रिसेसन खर्च चैतमै बुझाउनु पर्ने भएकाले पनि यसबीच सञ्चालन खर्च बढेको हो ।’
ढकालका अनुसार केही बैंक तथा वित्त कम्पनीले प्रदेश तथा स्थानीय सरकारलाई पनि कोरोनासँग जुध्नका लागि आर्थिक सहयोग गरेका थिए । जसले सञ्चालन खर्च बढायो ।
‘भाडा, विद्युत, इन्टरनेटलगायतको नियमित खर्च भइरहेको थियो, त्यसमा कोरोनाका कारण थप खर्च बढ्यो, जसले सञ्चालन खर्च बढाएको हो,’ उनले भने ।
साथै कोरोनाको जोखिम न्यूनिकरणका लागि पनि कर्मचारी तथा ग्राहकको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर तथा अतिरिक्त स्वास्थ्य सुरक्षामा खर्च हुँदा समेत सामान्य अवस्थामाभन्दा कार्यालय सञ्चालन खर्च केही प्रतिशत थपिएको हो ।
सामान्य अवस्थामा हुने सञ्चालन खर्चका अतिरिक्त खर्च बढेकाले आंशिकरुपमा कार्यालय सञ्चालन गर्दा पनि सञ्चालन खर्च बढेको बैंकरहरु बताउँछन् ।
डबल सिफ्टको व्यवस्थाले सञ्चालन खर्च अझै बढ्छ
गत जेठ २८ गते बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्षको अन्तिम महिना भएकाले बैंक तथा वित्तीय संस्थालाई २ सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो ।
जसलाई कार्यान्यवन गर्न राष्ट्र बैंकले ग्राहकको चाप हेरेर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा कर्मचारी खटाउन परिपत्र जारी गरिसकेको छ ।
सरकार र राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्थाको कारण जेठ माहिनादेखि सञ्चालन खर्च अझै बढ्ने ढकालले बताए ।
‘सरकारले करिब ३ महिनापछि लकडाउन खुकुलो बनाएको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘योसँगै बैंकमा ग्राहकको चाप बढिरहेको छ, ग्राहकलाई सेवा दिन कर्मचारीलाई २ सिफ्टमा खटाउँदा कार्यालय सञ्चालन खर्च अझै बढ्ने निश्चित छ ।’
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदा कार्यालय बिहान ७ बजेनै खोल्नुपर्छ, जसले गर्दा अतिरिक्त विद्युत र इन्टरनेटलगायतको खपत हुन्छ, यसले खर्च अझै बढाउने उनको भनाइ छ ।
सरकारले लकडाउन खुकुलो बनाए पछि निजी सवारीमा अझै पनि जोर-बिजोर प्रणाली लागू र पुरानो पास रद्द भएको छ । यसले गर्दा कर्मचारी कार्यालयमा आइपुग्न थप समस्या भएको छ । जसले गर्दा कर्मचारीलाई पिक एन्ड ड्रपको दायित्व बढेको उनले बताए ।
‘एकातिर जोर–बिजोर प्रणाली लागू भएको छ भने अर्कोतिर दुई वटा सिफ्ट भएपछि कार्यालयको सवारी खर्च बढेको छ, यसले सञ्चालन खर्च अझै बढाउँछ,’ उनले भने ।