म फोटो झुन्ड्याउन आएको होइन, काम गर्न आएको छु, त्यसैले बलियो टिम चाहिन्छः शेखर गोल्छा « Eglish Khabarhub

म फोटो झुन्ड्याउन आएको होइन, काम गर्न आएको छु, त्यसैले बलियो टिम चाहिन्छः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू अध्यक्ष बन्दै गर्दा फोटो मात्रै झुन्ड्याउन नआएको भन्दै काम गर्नका लागि बलियो टिम आवश्यक रहेको बताए ।

‘महासंघभित्र काम गर्न गाह्रो छ, मैले अध्यक्षका रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने छ, यसका लागि बलियो टिम चाहिन्छ,’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समेत रहेको कार्यक्रममा बोल्दै गोल्छाले भने ।

उनले उम्मेदवार किशोर प्रधानको टिमलाई जिताउन आग्रह समेत गरे ।

‘महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन,’ उनले भने, ‘हामी समस्या समाधानमा मात्रै कन्द्रित भयौ भने त्यसले अर्थ राख्दैन अब आफ्नो बाटो खोज्ने हो, निजी क्षेत्र कुन दिशामा जाने हो भन्ने विषयमा काम गर्ने हो । मैले यसका लागि होमवर्क गरिसकेको छु ।’

https://www.facebook.com/1758252114464638/posts/2706710642952109/

गोल्छाले यसका लागि आफूले सानादेखि ठूला व्यवसायीहरुसँग कुरा पनि गरिरहेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि के कस्ता प्राथमिकता हुन सक्छन् त्यसमा पनि छलफल गरिरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै उनले आफूलाई भोट गरेर जिताउने ६३ प्रतिशतलाई धन्यवाद दिए ।

‘म यहाँसम्म आइपुग्न त्यति सजिलो यात्रा थिएन । ३ वर्षसम्म पीडा दिइयो, म उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो पीडा सहज शक्ति दिने साथीहरुलाई मेरो विरुद्धमा पत्रकार सम्मेलन गरी विधान संशोधन गरेर शेखरलाई हटाउनुपर्छ भन्नेलाई पनि आजका दिनमा धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

उनले महासंघमा केही साथीहरुले निषेधको राजनीति गरेर आफूलाई हटाउने प्रयास गरेको समेत बताए ।

‘हरेक कार्यसमितिमा विधान संशोधनको तरबार मेरो टाउकोमाथि लड्काइयो । तर केही साथीहरुले विधान अनुसार जितेका छौं भन्दै हौसला दिने साथीहरु पनि हुनुहुन्थ्यो । आज म उहाँहरू सबैलाई धन्यवाद दिन्छु,’ उनले भने ।

उनले अर्थतन्त्र कमजोर भएको अवस्थामा आफू अध्यक्ष बन्दै गरेको उल्लेख गर्दै अर्थतन्त्र जोगाउनका लागि काम गर्ने बताए ।

Publish on: