काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ ।
परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ पुगेर छताछुल्ल भएको छ ।
अहिले ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति छन् भने उनका भाई डा. रुप ज्योति उपाध्यक्ष छन् । अमेरिकाको हाडर्वर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका वौद्धिक तथा विपश्यना ध्यान गर्ने डा. रुप ज्योतिले दाई पद्म ज्योतिका छोराहरु शौरभ र शुहृत ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन पुगेका छन् ।
रुप ज्योति गत असार २५ गते आफू अन्यायमा परेको भन्दै उजुरी बोकेर प्रहरीकहाँ पुगेका थिए । तर, प्रहरीले यो विषय पारिवारिक भएको भन्दै उजुरी दर्ता गर्न मानेको छैन ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायीहरुलाई व्यवसायिक आंचारसहिताको लागि पैरवी गर्ने संस्था राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का पूर्वअध्यक्ष रहेका पद्म ज्योतिले परिवारभित्रको झगडा मिलाउन असफल देखिएका छन् ।
‘पारिवारिक सम्पत्तिको विवाद भएको हुँदा यो विषय अदालतमा जानुपर्ने हुन्छ, केही विषय कम्पनी रजिष्ट्रार कार्यालयले मिलाउनुपर्ने हुन्छ, हामीले त्यसै गर्न सुझाव दिएका छौं,’ एसएसपी थापाले क्लिकमाण्डूसँग भने, ‘यद्यपि प्रहरीकहाँ आइसकेपछि हामीले विवाद मिलाउन सहजीकरण भने गरिरहेका छौं ।’
डा. रुप ज्योतिले पहिलो आरोप भतिजा सौरभ ज्योतिलाई लगाएका छन् । आफ्नो नाममा पर्सा जिल्लाको परवानीपुरमा रहेको ५ बिगाह जग्गा सौरभले बिक्री गरेको आरोप लगाउँदै डा. रुप ज्योतिले प्रहरीकहाँ निवेदन दिएको परिसरका एसएसपी दिपककुमार थापाले जानकारी दिए ।
डा. रुप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन् । आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ ।
रुप ज्योतिले दाई पद्म र भतिजाहरु सौरभ र शुहृतले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाएका छन् ।
महानगरीय प्रहरी परिसरको अपराध महाशाखा एसएसपी दिपक थापाले ज्योति परिवारको विवाद प्रहरीमा आएको र आफूहरुले परिवारभित्रै मिलाउन सुझाव दिएको बताए ।
ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री
‘पारिवारिक सम्पत्तिको विवाद भएको हुँदा यो विषय अदालतमा जानुपर्ने हुन्छ, केही विषय कम्पनी रजिष्ट्रार कार्यालयले मिलाउनुपर्ने हुन्छ, हामीले त्यसै गर्न सुझाव दिएका छौं,’ एसएसपी थापाले क्लिकमाण्डूसँग भने, ‘यद्यपि प्रहरीकहाँ आइसकेपछि हामीले विवाद मिलाउन सहजीकरण भने गरिरहेका छौं ।’
पारिवारिक कलह भएकाले प्रहरीले उजुरी दर्ता नगरेको उनले जानकारी दिए ।
‘डा. रुप ज्योतिले प्रहरीले उजुरी लिएर आरोपित व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने निवेदन दिनुभएको थियो तर मुलुकी देवानी संहिता-२०७४ अनुसार यस्तो विषयमा पक्राउ गर्न अदालतको अनुमति चाहिन्छ,’ थापाले भने, ‘सकेसम्म परिवारभित्रै मिलाउनुहोस्, होइन भने अदालत जानुहोस् भनेका छौं ।’
प्रहरीले यो विषय परिवारभित्रको सम्पत्ति विवाद भएकाले आन्तरिकरुपमा नै मिलेर आउन सुझाव दिएको छ । प्रहरीले मिल्नका लागि गत असार २५ गते नै ७ दिनको समय दिएको थियो । तर ७ दिनभित्र सहमति नभएपछि असार ३१ गते फेरि ७ दिनको समय दिएको छ ।
रुप ज्योति प्रहरीकहाँ पुगेपछि पद्म ज्योति पनि रुप ज्योतिविरुद्ध यस्तै प्रकृतिका ५/६ वटा मुद्दाका लागि निवेदन दिनसक्ने बताउँदै अपराध महाशाखा पुगेका थिए ।
प्रहरीले रुप ज्योतिविरुद्धको पद्म ज्योतिको निवेदन पनि दर्ता गरेको छैन । परिवारभित्रको विषय कम्पनीको चार्टर्ड एकाउन्टेन्ट र वकिल राखेर मुद्दा मिलाउन सुझाव दिएको छ ।
तपाईंहरु जस्तो प्रतिष्ठित व्यवसायिक घरानाले यस्तो विषय परिवारभित्रै मिलाउँदा राम्रो हुन्छ भनेर आफूहरुले सुझाव दिएको थापाले बताए ।
प्रहरीले यो विषय परिवारभित्रको सम्पत्ति विवाद भएकाले आन्तरिकरुपमा नै मिलेर आउन सुझाव दिएको छ । प्रहरीले मिल्नका लागि गत असार २५ गते नै ७ दिनको समय दिएको थियो । तर ७ दिनभित्र सहमति नभएपछि असार ३१ गते फेरि ७ दिनको समय दिएको छ ।
यो विषयमा बुझ्न ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई सम्पर्क गर्दा उनले परिवारभित्र केही समस्या देखिएको र आफूहरु मिलाउने प्रक्रियामा रहेकाले यस विषयमा यो भन्दा थप प्रतिक्रिया दिन मानेनन् ।
यसरी शुरु भयो सम्पत्तिको लफडा
ज्योति परिवारभित्रको लफडा रुप ज्योति ठगीको आरोपमा प्रकाउ परेपछि शुरु भएको हो । विजेन्द्र मल्लले रुप ज्योतिको ल्याण्डमार्क प्रालिले दिनुपर्ने घर नदिएपछि प्रहरीमा मुद्दा दायर गरेका थिए ।
जिल्ला अदालतले रुप ज्योतिलाई प्रकाउ गर्नको लागि आदेश दिएपछि उनी र उनकी छोरी सुरुचीलाई गत कात्तिकमा प्रकाउसमेत गरेको थियो ।
ल्याण्डमार्क प्रालिमा पद्म ज्योति र सौरभ ज्योतिसमेत सेयरधनी थिए । विजेन्द्र मल्लको उजुरीका आधारमा पद्म र सौरभ ज्योतिसहित परिवारका अन्य सदस्यलाई समेत पक्राउ पुर्जी जारी भएको थियो ।
तर पद्म र सौरभ भने पक्राउ परेनन् ।
रुप ज्योतिलाई ठगीको आरोपमा जेल पुर्याएका विजेन्द्र मल्लले पद्म ज्योतिलाई आफूले सम्मान गर्ने सार्वजनिकरुपमै बताएका थिए ।
ज्योति ग्रुपको स्थापना पद्म र रुप ज्योतिका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा गरेका थिए । यो ग्रुप अन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग छन् ।
रुप ज्योतिका कारण परिवारको प्रतिष्ठामा आँच आएको निष्कर्श निकाल्दै पद्म ज्योति र उनका छोराहरु रुप ज्योतिसँग ठूलो असन्तुष्टि व्यक्त गरे ।
यसपछि ज्योति परिवारभित्र अंशबण्डा शुरु भयो । अंशबण्डाकै क्रममा गत माघ पहिलो साता हिमालयन बैंकमा रहेको सेयर २४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयरको स्वामित्व परिवारभित्रै सारिएको थियो ।
डा रुप ज्योतिमाथि लागेको १ करोड २६ लाख रुपैयाँ ठगी आरोप सहमितमै मिल्यो । तर यहीँबट उत्कर्षमा पुगेको परिवारभित्रको विवाद प्रहरीसम्म पुगेर छताछुल्ल भएको छ ।
ज्योति ग्रुपको स्थापना पद्म र रुप ज्योतिका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा गरेका थिए । यो ग्रुप अन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग छन् ।
हिमाल स्टिल, जय स्पिनिङ, ज्योति यार्न, हिमाल अक्सिजन संचालनमा छ भने, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, सगरमाथा इन्स्योरेन्स, ग्रान्डी हस्पिटल तथा बुटवल पावरमा पनि सेयर लगानी छ ।
यसबाहेक होन्डा मोटरसाइकल र गाडी तथा हिरो मोटरसाइकलको डिलर पनि ज्योति ग्रुप अन्तर्गत नै छ । होन्डाको कारोबार पद्म ज्योतिका छोरा सौरभले हेर्छन् भने हिरोको कारोबार रुप ज्योतिका छोरा अभिक ज्योतिले हेर्छन् ।
प्रतिक्रिया दिनुहोस्