स्टारगोल्ड बियर उत्पादन गर्ने नेपाल ब्रुअरीबाट भवन भट्ट बाहिरिँदै, २५ करोडमा डिल, सम्झौता छिट्टै « Eglish Khabarhub

स्टारगोल्ड बियर उत्पादन गर्ने नेपाल ब्रुअरीबाट भवन भट्ट बाहिरिँदै, २५ करोडमा डिल, सम्झौता छिट्टै



काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्ट मदिरा उद्योगबाट बाहिरिने भएका छन् ।

टीबीआइ ग्रुप अन्तर्गत रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुअरीको सम्पूर्ण स्वामित्व २५ करोड रुपैयाँमा बिक्री गर्न लागिएको हो ।

व्यवसायीहरु गोकुल भण्डारी, सुदिप आचार्य, रविन्द्रमान श्रेष्ठलगायतको समूहले नेपाल ब्रुअरी किन्न लागेको हो ।

‘२५ करोड रुपैयाँमा नेपाल ब्रुअरी किन्ने फाइनल डिल भइसकेको छ,’ स्रोतले भन्यो, ‘खरिदबिक्री सम्झौता पनि तयार भइसकेको छ, हस्ताक्षर हुन बाँकी छ ।’

स्रोतका अनुसार केही प्राविधिक कुरा भने मिलेको छैन । प्राविधिक कुरा मिलेको खण्डमा २/४ दिनमै खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुनेछ ।

‘प्रारम्भिक ड्यु डेलिजेन्स अडिट (डीडीए) भए पनि अन्तिम डीडीए भने हुन बाँकी नै छ,’ स्रोतले भन्यो, ‘९९ प्रतिशतमात्रै फिक्स छ ।’

टीबीआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्टले उपयुक्त मूल्य पाए आफूहरु नेपाल ब्रुअरी बिक्री गर्न तयार रहेको बताए । तर अहिले अन्तिम डिल भएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको उनले प्रष्ट पारे ।

‘उपयुक्त मूल्य पाए हामी नेपाल ब्रुअरी बिक्री गर्न तयार छौं,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘धेरैवटा डिल भएका छन्, फाइनल डिल कसैसँग पनि भएको छैन ।’

सन् १९६६ जनवरीमा स्थापना युनाइटेड ब्रुअरीका नाममा स्थापना भएको कम्पनी हेटौंडाको औद्योगिक क्षेत्रमा छ ।

कम्पनीले १९७२ देखि उत्पादन गर्दै आएको छ । सन् २०११ देखि यसको पूर्णस्वामित्व भवन भट्टसँग छ ।

भट्टले किनेपछि कम्पनीको नाम परिवर्तन गरी नेपाल ब्रुअरी राखिएको हो । कम्पनीले स्टार बियरको अतिरिक्त माइटी शेर्पा ब्राण्डमा समेत बियर उत्पादन गर्छ ।

भट्ट जापानमा रहेर व्यवसाय गर्छन् । जापानमा उनका धेरै रेस्टुराँ छन् । पछिल्लो समय यो व्यापारिक समूहले नेपालमा पनि लगानी बढाउँदै गएको छ ।

यो समूहको प्रवद्र्धनमा लिवर्टी कलेज, कारोबार दैनिक, धुलिखेल माउन्टेन्ट रिसोर्ट, बीआइडी अटोमोवाइल्स, बीबी होलिडेज सञ्चलनमा छन् । यो समूहको बीबी एयरवेज भने बन्द छ । त्यसैगरी, यो समूहले ग्लोबल आइएमइ बैंक लगायत केही बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेको छ ।

Publish on: