२९ मंसिर २०८२, आइतबार

बैंकको संख्या घटाउने राष्ट्र बैंकको नयाँ रणनीतिः हकप्रद सेयर जारी गरेर पुँजी बढाउन रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक वर्षअघि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हकप्रस सेयरका लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो । तर राष्ट्र बैंकले शाइन रेसुङ्गालाई हकप्रद निष्काशनको अनुमति दिएन ।

‘राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाको पनि हकप्रद रोकेको रहेछ, अरुको रोकेसँगै हाम्रो बैंकको पनि रोकेको भन्ने जानकारी आयो,’ शाइन रेसुङ्गाका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

२०७२ सालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढायो । पुँजी बढाउनुको एउटै उदेश्य थियो बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान्छन् । र, संख्या कम हुन्छ ।

तर धेरै बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी पुर्याए । आफूले सोचे अनुरुप संख्या नघटेपछि राष्ट्र बैंकले हकप्रद सेयर जारी गर्न कडाइ गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद सेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगर्ने निर्णय गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘अबदेखि हकप्रद जारी गरेर पुँजी वृद्धि गर्छु भन्ने कुनैपनि बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले स्वीकृति दिँदैन,’ राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘तोकिएको पुँजी वृद्धि सबै बैंक तथा वित्त कम्पनीले पुर्याइसकेको हुनाले अब पुँजी वृद्धि गर्न हकप्रद जारी गर्न पाउँदैनन् ।’

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले हकप्रद जारी गर्न अन्य प्रकारको ठोस कारण नभएसम्म पाउने छैनन् । लघुवित्त संस्थालाई भने हकप्रद जारी गर्न अनुमति नदिने निर्देशननै जारी भइसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारीकरुपमा हकप्रद जारी गर्न रोक लगाएको भने छैन । तर हकप्रद सेयर जारी गर्न भने तत्काललाई स्वीकृति दिएको छैन ।

केही दिनअघि लघुवित्त संस्थाहरुलाई एक निर्देशन जारी गर्दै हकप्रदमा रोक लगाएको थियो ।

जारी निर्देशनमा भनिएको छ-‘ राष्ट्र मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन ।’

विगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको बैंक तथा वित्तीय संस्था अथवा अन्य कम्पनीले पुनः साधारण सेयरलाई हकप्रद सेयर भनिन्छ ।

त्यसरी निष्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरुलाई प्राप्त हुन्छ । प्रायजसो कम्पनीहरुले पुँजी बढाउने प्रयोजनामा हकप्रद सेयर जारी गर्ने गरेका छन् ।