लकडाउन अवधिमा उद्योग व्यवसायमा काम गर्ने २२.५ %ले जागिर गुमाए, १८.२ %ले तलब घट्यो « Eglish Khabarhub

लकडाउन अवधिमा उद्योग व्यवसायमा काम गर्ने २२.५ %ले जागिर गुमाए, १८.२ %ले तलब घट्यो



काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि लागु गरिएको लकडाउनको कारण निजी क्षेत्रमा काम गर्नेले २२.५ प्रतिशतले रोजगारी गुमाएको देखिएको छ ।

निजी उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेका छन् । लकडाउनको ४ महिनामा उद्योग/व्यवसायहरुले कर्मचारी कटौती गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, औसतमा १८.२ प्रतिशत तलब कटौती भएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरु सहभागी भएका थिए । सहभागी उद्योगी व्यवसायीले दिएको विवरण अनुसार राष्ट्र बैंकले कोभिड–१९ ले. अर्थतन्त्रमा पारेको प्रभावको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार कर्मचारी कटौती भएकामध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा रेष्टुरेन्ट क्षेत्रले धेरै कर्मचारी र कामदार कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

साथै, तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन् । यस्तै, ठूला उद्योग÷व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउन अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका थिए भने, ६१ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् । यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । यसरी कटौती हुने मध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् ।

सोही अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायहरुको उत्पादन/कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ ।

Publish on: