अमेरिका । अमेरिकी डेमोक्र्याट पार्टीले जोए बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको ४ दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिकरुपमा उम्मेदवार घोषणा गरेको हो ।
डेमोक्रयाट पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ ।
पार्टीका निर्वाचित प्रतिनिधिले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् ।
बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लिकन दुबै पार्टीका शीर्ष नेताहरु पनि छन् ।
पूर्वराष्ट्रपति बिल क्लिन्टन र विदेशमन्त्री जोन केरी तथा रिपब्लिकन पार्टीबाट पूर्वविदेशमन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिएका छन् । हाल ९५ वर्ष पुगेका पूर्वराष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा परेका थिए ।
कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुको कटु आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।
पूर्वविदेशमन्त्री केरीले भने ‘डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मूख रहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।’
पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ, र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न सकेको छैन भने ।
भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ ।
रिपब्लीकन पार्टीका तर्फबाट विदेश मन्त्री रहेका कोलिन पावेलले बाइडेनलाई समर्थन गरेका छन् । उनी एरिजोनका पूर्वसिनेटर स्व. जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा परेका थिए । आधा दर्जनभन्दा बढी रिपब्लिकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गरेका थिए ।
SHARE YOUR THOUGHTS