काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बिक्री खुला भएको पहिलो दिन नै १० लाख २ हजार ६० कित्ताका लागि आवेदन परेको छ । आइपीओ खुलेको पहिलो दिन बुधबार साँझसम्म २६ हजार १९० जना आवेदकले १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
आईपीओ भर्नका लागि भदौ ३ गतेदेखि चाँडोमा ७ गते र ढिलोमा भदौ १७ गतेसम्म समयावधि छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित सेयर मूल्यमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ ।
कम्पनीको आइर्एपीओमा सि-आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सकिन्छ । तर सरकारले बुधबार राति १२ बजेदेखि उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा जारी गरेसँगै अब लगानीकर्ताले उक्त आइपीओ मेरो सेयर डटकमबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना लमजुङ जिल्लास्थित दोर्दी गाँउपालिकामा निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।
उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
आयोजनाको आगामी कात्तिक मसान्तसम्म निर्माण कार्य लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाइ भएकाले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने अवधि २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभएको कम्पनीले जनाएको छ ।
आयोजनाको पानीको स्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाईलगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ ।
साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउससँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकाले प्रशारण नोक्सानी नहुनेलगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।
कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको जनाएको छ ।
कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ ।
SHARE YOUR THOUGHTS