काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ)मा २ अर्ब ४१ करोड ३१ लाख ८७ हजार रुपैयाँको आवेदन परको छ । सोमबार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ३३१ जनाले २ करोड ४१ लाख ३१ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सर्वसाधारको लागि ५६ लाख ७० हजार कित्ताको लागि बिक्री खुला गरिएको थियो । रिलायन्सको आइपीओमा मागभन्दा ४.२५ गुणा बढी आवेदन परेको छ ।
रिलायन्सले भदौ ४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
कम्पनीले ५६ लाख ७० हजार कित्ताको लागि आवेदन खुला गरेपनि २ करोड ४१ लाख ३१ हजार ८७० कित्ताका लागि आवेदन परेको छ । रिलायन्सको आइपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुने देखिएको छ ।
यसअघि आएको बहुप्रतिक्षीत नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा माग भन्दा ३.६८ गुणा बढी आवेदन परेको थियो । मागको आधारमा परेको आवेदनको संख्या हेर्दा पुनर्बीमा कम्पनीको भन्दा रिलायन्सको आइपीओमा बढी आवेदन परेको देखिएको छ ।
पुनर्बीमाको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँको आवेदन परेको थियो । उक्त आइपीओमा ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका थिए ।
पुनर्बीमाले १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेकोमा १ करोड ५१ लाख २६ हजार ५ सय कित्तामा सर्वसाधरणले आवेदन दिएका थिए ।
पछिल्लो समयमा आएको आइपीओमा लगानीकर्ताको ध्यान निकै जान थालेको छ । प्राय सबै कम्पनीको आईपीओमा लगानीकर्ताले माग भन्दा बढी नै आवेदन दिन थालेका छन् ।
आइपीओपछि रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ
SHARE YOUR THOUGHTS