काठमाडौं । नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
नेपाली राजदूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको राजदूतावासले जनाएको छ ।
उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४ हजार १ वर्ष वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात आपसी सहमतिमा सम्झौताको अवधि बढाइने राजदूतावासले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए । उनले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा नेपालका राजदूतावासलाई बद्याई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाए ।
भेटमा राजदूतहरूले नेपाल–ओमानबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा व्यक्त गरे ।
राजदूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने र करिब १६ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने दाबी गरे ।
यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्ने राजदूतले जनाएको छ । साथै, आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने जनाए ।
त्यसैगरी, विदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एवम् कलात्मक भवन हुनु देशकै लागि एक गर्वको विषय रहेको र उक्त भवनको निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुने राजदूतवासले जानकारी दिए । यस्तै, उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाइ व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत थप योगदान पुर्याउने दूतावासको योजना छ ।
SHARE YOUR THOUGHTS