काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा एकाएक हल्ला फैलियो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्त भए ।
उनको कार्य अवधि भदौ २९ गतेसम्म रहेको सन्दर्भमा सरकारले पुनः नियुक्ति गरेको भन्दै उनलाई बधाई दिनेको ओइरो नै लाग्यो । एक कान दुई कान मैदान भने जस्तै एकै क्षणमा उक्त समाचार भाइरल जस्तै भयो । धेरैले उनलाई बधाई मात्रै दिएनन, सरकारलाई समेत धन्यवाद दिए ।
उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले आफ्ना सम्धी प्रा. डा. उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको भन्दै बिहानदैखि सरकार विरुद्ध सामाजिक सञ्जालमा आक्रोश थियो । सोही आक्रोशका बीचमा कुलमानको नियुक्तिको विषय आएको थियो ।
उक्त समाचारलाई छायाँमा पार्नका लागि कुलमान पुनः नियुक्तीको गलत समाचार फैलाइएको समेत सामाजिक सञ्जालमा चर्चा चलेको छ ।
कुलमान घिसिङले आफ्नो कार्यकाललाई पूर्णरुपमा सदुपयोग गरेका छन् । सपना खोसिएका, आशा हराएका, अध्याँरोमा बस्न विवश मनहरुलाई उज्यालोको नाम दिएका छन् ।
उनले सामान्य रुपमा गरेको व्यवस्थापनले नेपालीलाई कालो रातबाट उज्यालोमा परिणत गरिदिएको छ । तर, मंगलबार उनको नाममा फेक ट्वीटर अकाउण्ट र फेसबुकमा समेत गलत आइडी बनाएर प्रचार गरिएको पाइएको छ ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा घिसिङले लेखेका छन् मेरो नाममा फेक अकाउण्ट खोलेर गलत प्रचार गरिएको छ ।
मंगलबार साँझ घिसिङको नाममा फेक ट्वीटर अकाउण्टबाट गरिएको ट्वीटका कारण उनको पुनः नियुक्तिको समाचार भाइरल बन्न पुगेको थियो ।
घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको जानकारी गराउँदछु ।’
सरकारले भने घिसिङको पुनः नियुक्तिका विषयमा प्रस्ताव नै तयार भइनसकेको बताइएको छ । सामाजिक सञ्जालमा भने उनको पुनः नियुक्ति गर्नुपर्ने चौतर्फी माग उठेको छ ।
SHARE YOUR THOUGHTS