काठमाडौं । सरकारका प्रवक्ताले नेपला विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको टिप्पणी गरेका छन् ।
सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सामाजिक सञ्जालले दिएको नियुक्तिका बारेमा सरकारलाई थाहा नहुने बताए ।
पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘ सामाजिक सञ्जालले नै उहाँलाई नियुक्ति दिएको होला, सरकारलाई थाहा हुने कुरा भएन ।’
उनले घिसिङको पुनः नियुक्तिका विषयमा कुनै प्रस्ताव पनि नआएको र छलफल समेत नभएको बताए ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पुनः ४ वर्षका लागि नियुक्ति गरेको भन्दै हल्ला फैलिएको थियो ।
उक्त हल्ला फैलिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पुनः नियुक्तिका विषयमा प्रस्ताव नै नलगेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।
उक्त हल्ला फैलिएपछि धेरैले सरकार र घिसिङ दुवैलाई वधाइ दिएका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रक्षामन्त्री ईश्वर पोखरेललको सम्धी प्रा डा उपेन्द्र कोइरालालाई नियुक्ति गरिएको विषयलाई ओझेलमा पार्न उक्त हल्ला चलाइएको समेत सामाजिक सञ्जालमा चर्चा भएको थियो ।
यही भदौ २९ गते घिसिङको ४ वर्षे कार्यकाल पूरा हुन लागेको छ ।
SHARE YOUR THOUGHTS