सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने मन्त्री गुरुङको घोषणा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले समाज सेवा गर्ने, मानवीय सेवागने उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशीदाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न समाजकल्याण परिषद अन्तर्गत सो कोष स्थापना गर्ने सोच अघि बढाउनु परेको बताए ।

बियोन्ड बेईजिङ कमिटी, नेपालले प्रकाशित गरेको ‘एक्सेस टू जसटिसः सोसियल इन्टरप्राईज इन नेपाल’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल मिटिङमा उनले सामाजिक उद्यमशीलता मैंत्री ऐन, कानुन तत्काल तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐन, कानूनको निर्माणगर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याट लगायतका समस्या समाधान हुने गरी ऐन, कानूनको परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन म समाजकल्याणको क्षेत्रमा कार्यरत संघ, संस्था, गैर सरकारी क्षेत्रमा कार्यरत संघ, संस्था तथा नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दछु ।’

मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको माध्यामबाट ग्रामिण तथा हिमाली क्षेत्रका महिलाहरुलाई उद्यमशील बनाउन चालू आर्थिक वर्षबाटै सबै स्थानीयतहमा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापनागर्ने सोच अघिबढाइएको पनि स्मरण गराए ।

उनले समाजमा विद्यमान महिला हत्या, हिंसा हुन नदिने गरी महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन सामाजिक उद्यमशीलताको अभियानले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारिकरणका लागि काठमाडौंको भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापना गर्ने योजना ल्याइएको उल्लेख गर्दै त्यसमा साथ दिनपनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।