काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, यी सेवा भने सञ्चालन गर्न पाइने « Eglish Khabarhub

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, यी सेवा भने सञ्चालन गर्न पाइने



काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

तर निषेधाज्ञा पहिलेको तुलनामा केही खुकुलो हुने भएको छ । बैठकले केही सेवा सञ्चालन गर्न दिने र केही क्षेत्र सञ्चालनमा लगाइएको प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ ।

सञ्चालन हुने सेवाहरु
बैठकले अत्यावश्यक वस्तु तथा सेवामध्ये औषधि, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल÷व्यवसाय जुनसुकै समयमा पनि निर्वाधरुपमा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यसैगरी अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दुध र दुधजन्य पदार्थ, फलफूल, तरकार, माछा, मासुको बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म खोल्न सकिने छ ।

बैठकले उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय साथै सोको ढु्वानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिनेछ । तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी पीसीआर नेगेटिभ भएका व्यक्तिहरुबाट मापदण्ड बमोजिम टेकअवे सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्यरुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।

अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पीसीआर नेगेटिभ हुनुपर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरुको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्रै सेवा सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारी, कामदारहरुको खान र बस्नका लागि परिसरभित्र सम्बन्धित उद्योग कलकारखानाले छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्नेछ ।

निषेध गरिएका सेवाहरू

अब अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्लामा प्रवेश गर्न रोक लगाइएको छ ।

Publish on: