योद्धाको छायाँले त्रसित सेयर बजार, नेप्से सूचकसँगै कारोबार रकम घट्यो « Eglish Khabarhub

योद्धाको छायाँले त्रसित सेयर बजार, नेप्से सूचकसँगै कारोबार रकम घट्यो



काठमाडौं । गत फागुन २१ गते दोस्रो पटक डा. युवराज खतिवडा अर्थमन्त्री बनेका बेला अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै भनेका थिए- ‘म एक योद्वा हुँ, योद्वा दुई तरिकाले फर्कन्छ, कि युद्व जितेर, कि, कमान्डरले बोलाएपछि मात्रै जान्छ, अब अर्थमन्त्रालयमा कति समय बस्छस भनेर सोध्नुको कुनै अर्थ छैन ।’

खतिवडाको राष्ट्रिय सभा सदस्यको म्याद फागनु २० गते पनि ६ महिना मन्त्री बन्न पाउने संविधानमा व्यवस्था भए बमोजिम उनी फेरि अर्थ र सञ्चारमन्त्रीका रुपमा नियुक्त भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई दोस्रो पटक पुनः जिम्मेवारी दिएका थिए ।

संवैधनिकरुपमा खतिवडाको कार्यकाल सकिन अब २ दिन मात्रै बाँकी छ ।

तर यो पछिल्लो ६ महिनाको कार्यकालमा उनले भने अनुसारको युद्ध जितिसकेका छैनन् । युद्धको बीच मैदानमा लडिरहेका खतिवडालाई अब कमान्डरले युद्ध नसकिँदै फिर्ता बोलाउने हुन वा युद्ध जितेर मात्रै फर्कन्छन भन्नेमा यतिबेला सबैको चासो बनेको छ ।

त्यति मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीका मनपर्ने ‘युवराज’का रुपमा साढे २ वर्ष अघि अर्थमन्त्री बनेका खतिवडालाई शुरुमा धेरैले वाहवाही थिए । आशाको त्यान्द्रो फेरि जागेका रुपमा व्याख्या गरे ।

राष्ट्रले विज्ञ अर्थमन्त्री पायो भन्दै उनको र उनलाई नियुक्त गर्ने प्रधानमन्त्री ओलीको समेत गुणगान गाउन समेत पाए । तर उनको कार्यकाल सकिँदासम्म उनी वाहवाही गर्नेहरुको अपेक्षामा खरो उत्रन सकेनन् । अझ भनौं कार्यकालको उत्तरार्धमा आइपुग्दासम्म ‘अरुचि’को पात्रका रुपमा चित्रितसम्म भए ।

यसबीचमा जब–जब खतिवडा अर्थमन्त्रीबाट बाहिरिने चर्चा चल्थ्यो त्यसको सकारात्मक परिणाम सेयर बजार देखिन्थ्यो । अर्थात् सेयर लगानीकर्तामा आशा बढ्दै सेयर बजार खुसीले हरियो हुन्थ्यो । त्यसको ठीक विपरीत कार्यकाल लम्बिने चर्चा भएसँथै सेयर बजारमा रातो पोतिन शुरु गर्दथ्यो । यसको पुष्टि नेप्सेको तथ्याङकले नै पुष्टि गर्छ ।

फागुन २० गतेदेखि अर्थमन्त्रीबाट खतिवडा हट्ने चर्चा हुँदा २ दिन अगाडि फागुन १८ गते बढेर नेप्से सूचक बढेर १६२०.२७ बिन्दुमा पुगेको थियो । तर अपेक्षाभन्दा ठ्याक्कै उल्टो गरी जब खतिवडा दोस्रो पटक अर्थमन्त्रीमा चुनिए त्यसैबेलादेखि बजारमा निरन्तर गिरावट आउन थाल्यो । त्यसबेलादेखि असार १५ गतेसम्म आइपुग्दा बजार घटेर ११७८.१५ बिन्दुमा पुग्यो । त्यसपछि पुनः उकालो चढ्न थालेको नेप्से सूचकको ग्राफ सरसर्ती हेर्दा कुनै न कुनै रुपमा अर्थमन्त्रीको छायाँ देखिएको बुझ्न गाह्रो छैन ।

यो सातामा सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक ०.१५ अंकले घटेर परिसूचक १५१०.४२ बिन्दुमा रोकिएको छ । १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा धेरै नै गिरावट आएको छ ।

कारोबारमा होटल, वित्त कम्पनी, निर्जीबन बीमा कम्पनी, माइक्रोफाइनान्स र जीवन बीमा समूहको उपसूचकमा केही सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचकमा २.९६ अंकको गिरावट रहेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४१ करोड ५७ लाख ७ हजार २३८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् ।

Publish on: