व्यापारिक घराना ज्योति दाजुभाइको घर झगडा चर्कियो, एक अर्काविरुद्ध सार्वजनिक सूचना « Eglish Khabarhub

व्यापारिक घराना ज्योति दाजुभाइको घर झगडा चर्कियो, एक अर्काविरुद्ध सार्वजनिक सूचना



काठमाडौं । सम्पत्ति बाँडफाँडबाट शुरु भएको देशकै पूरानो व्यापारिक घराना ज्योति समूहको आन्तरिक घर झगडाले उग्र रुप लिएको छ ।

पद्म ज्योति र रुप ज्योतिले एकअर्कालाई निषेध गर्दै सार्वजनिक सूचना नै प्रकाशित गरेर आन्तरिक झगडा छताछुल्ल पारेका छन् ।

सरकारी प्रकाशन गोरखापत्रमा आइतबार सार्वजनिक सूचनामार्फत ज्योति समूहको अध्यक्षबाट पद्यम ज्योतिलाई हटाइएको जानकारी दिइएको छ ।

सूचनाअनुसार ज्योति समूहको नवनियुक्त अध्यक्षमा डा. रुप ज्योति नियुक्त भएको उल्लेख छ ।

सूचनामा भनिएको छ ‘यस ज्योति समूहका कम्पनीको मिति २०७७ वैशाख १० गते तथा सो भन्दा अगाडिको मितिमा सम्पन्न विशेष साधारणसभाबाट अध्यक्ष पदमा चयन हुनु भएकोमा डा. रुप ज्योतिलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक वधाई ज्ञापन गर्दछौं ।’

यस्तै, २७ वर्षसम्म अध्यक्ष पद सम्हाली नेतृत्व प्रदान गर्नुभएकामा निर्वतमान अध्यक्ष पद्यम ज्योतिलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं भनिएको छ । यसरी सूचना जारी गर्नेमा ज्योति समूहका १९ वटा कम्पनी तथा फर्म रहेका छन् ।

उता पद्म ज्योतिले आफुमाथि ज्यादती गरेको उनका भाई रुप ज्योतिले सार्वजनिक सूचना नै प्रकाशित गरी जानकारी दिएका छन् ।

काठमाडौं कान्तिपथस्थित ज्योति भवनको केही खण्डमा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिले सञ्चालन गरेका ग्राण्डी हस्पिटलमा उनकै दाई र भतिजहरुले तोडफोड गर्ने, हस्पिटलको कर्मचारीलाई धम्क्याउने, पानीको सप्लाइसमेत काटी दिएको रुप ज्योतिले जनाएका छन् ।

अर्बपति व्यवसायी रुप ज्योतिमाथि फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी

उनले ग्राण्डी अस्पतालको तर्फबाट आइतबार सार्वजनिक सूचना जारी गर्दै पद्म ज्योति र उनका छोराहरुले ढोकाका फलाम पाता, प्लाइवुड ठोकेर बन्द गरेको बताएका छन् ।

ग्राण्डी सिटी अस्पतालले जारी गरेको सूचनामा २०७७ भदौ मसान्तसम्मको बहाल रकमबापत १ करोड ३४ लाख ४० हजार रुपैयाँ तथा २०९१ सालसम्मको थप ३ करोड २ लाख २१ हजार ७ सय ५० रुपैयाँ पेश्की गरी जम्मा ४ करोड ३६ लाख ६१ हजार ७ सय ५० रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ ।

बहाल नपाएको भनी सूचना जारी गरी अस्पतालले दिएको बहालवापतको रकम खाने पचाउने मनसायले अस्पताल तथा अस्पतालका पदाधिकारीविरुद्ध विभिन्न सञ्चार माध्यममार्फत् अनर्गल प्रचार गरिरहेको व्यहोरा प्रष्ट पार्न पारेको छ ।

पद्म ज्योतिको अस्पतालसँग कुनै सरोकार नभएको र अस्पतालका सञ्चालक स्वास्थकर्मी, कर्मचारीलाई मानमर्दन हुनेगरी उत्तेजना फैलाई आम सर्वसाधारणमा भ्रम पार्ने गैरकानूनी कार्य नगर्न नगराउन सूचनामार्फत् सचेत गराइएको छ ।

यस्तै, अस्पताल प्रवेश र आवतजावतमा रोक लगाउने, पानीको सप्लाइ रोक्ने, कर्मचारीलाई धम्क्याउनेजस्ता अमानविय कार्य गर्दै अस्पताल नै बन्द गराउन खोजेको दाबी गरेका छन् ।

अर्बपति परिवारमा सम्पत्तिको झगडा: रुप ज्योतिले गरेको भाजुरत्नको साधारणसभा गैरकानूनी ! (पत्रसहित)

ज्योति भवन पद्म ज्योतिको नाममा रहेको छ भने उनले औपचारिक सूचना नै जारी गर्दै घर खाली गर्न बेलाबेलामा भाइलाई भनिरहेको बताइन्छ ।

यसअघि गतसाता मात्रै पद्म ज्योतिले ग्राण्डी अस्पताल अवैधरुपमा सञ्चालनमा रहेको भन्दै सार्वजनिक सूचना जारी गरेका थिए ।

उनले आफ्नै भाइको लगानीमा रहेको अस्पतालले कानून बमोजिम प्राप्त गर्नुपर्ने कुनैपनि अनुमति नलिएको र गैरकानूनी रुपमा सञ्चालन भएको बताएका थिए ।

उनले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत नेपाल सरकारको कुनैपनि निकायबाट कानून बमोजिम ग्राण्डी सिटी अस्पतालले अनुमति नलिएको सूचनामा उल्लेख गरका छन् । साथै अस्पतालमा कार्यरत चिकित्सक समेत गुणस्तरहिन रहेको दाबी गरेका छन् ।

रुप ज्योतीले आइतबार सार्वजनिक सुचना जारी गर्दै पद्म ज्योतिले सार्वजनिक गरेको उक्त सूचनाप्रति खेद व्यक्त गरेका छन् । ग्राण्डी अस्पतालमा पद्म ज्योतिको समेत सेयर लगानी छ ।

सेयर लगानी भए पनि विभिन्न अस्पताल र कार्यरत कर्मचारीको विरुद्धमा विभिन्न भ्रामक व्योहोरा बनाइ सञ्चार माध्यममा सूचना प्रकाशित गरेकामा रुप ज्योतिले खेद व्यक्त गरेका छन् ।

1

Publish on: