काठमाडौं । बीमा समितिले कोरोना बीमा सम्बन्धि निर्देशिका संशोधन तथा थप व्यवस्था गर्दै नयाँ व्यवस्था गरेको छ । जसअनुसार अब उप्रान्त कोरोना बीमा गर्नेहरुले कुल बीमांकमध्ये राहत खर्च वापत २५ प्रतिशत मात्रै भुक्तानी पाउने छन् ।
नयाँ बीमितहरुले शतप्रतिशत भुक्तानी पाउने छैनन । तर यो व्यवस्था पुराना बीमितहरुको हकमा भने लागू हुने छैन ।
बीमा समितिले भदौ २८ गते कोरोना बीमा निर्देशिका संशोधन तथा परिमार्जन गर्दै उक्त व्यवस्था गरेको हो ।
समितिले भुक्तानी सम्बन्धी गरेको नयाँ व्यवस्थाअनुसार अब नयाँ बीमितले कुल बीमांकबाट राहत खर्च र उपचार खर्चमात्र पाउने नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।
‘संशोधित निर्देशीकाले आजबाट कुल बीमांकको २५ प्रतिशत राहत खर्च र ७५ प्रतिशत उपचार खर्चमात्र दिनु पर्ने व्यवस्था भयो,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘आजबाट बिक्री भएको पोलेसीको भने भुक्तानी बीमितको अवस्था र उपचार खर्चको बिलको आधारमा मात्र भुक्तानी हुन्छ ।’
कोरोना संक्रमित प्रमाणित भइ आस्पताल भर्ना हुन परेमा वा तोकिएको आइसोलेसन सेन्टरमा आइसोलेसनमा बसेको अवस्थामा चिकित्सकले प्रमाणित गरे बमोजिम कोभिड–१९ सँग सम्बन्धित औषधि उपचारको खर्च बिल बमोजिम कुल बीमांकको ७५ प्रतिशत दाबी भुक्तान कम्पनीले गर्नुपर्ने निर्देशिकाका उल्लेख गरिएको छ ।
हाल ५० हजार रुपैयाँ र १ लाख रुपैयाँका दुई वटा बीमा पोलिसी छन् ।
मानौं, यदी तपाईंले १ लाख रुपैयाँ बराबरको पोलिसी खरिद गर्नु भएको छ र तपाईं कोरोना संक्रमित पुष्टि भइ होम आइसोलेसनमा बस्नु भएको छ भने २५ हजार रुपैयाँ भुक्तानी पाउनु् हुनेछ । त्यसैगरी यदी तपाईं अस्पतालमा भर्ना भइ उपचार गराउनु भएको छ भने बिलका आधारमा भुक्तानी हुनेछ । यस्तो भुक्तानीमा बढीमा ७५ हजार रुपैयाँसम्म हुनेछ ।
अहिले कोरोना संक्रमितहरुले आफ्नो इच्छाअनुसार निजी अस्पतालमा आफ्नै खर्चमा पनि उपचार गराइरहकाले त्यस्ता बीमितले उपचार खर्चको आधारमा ७५ हजारबाट नबढ्ने गरी बिलमा उल्लेख भएको रकम भुक्तानी कम्पनीबाट पाउने संघका महासचिव क्षेत्रीले बताए ।
SHARE YOUR THOUGHTS