काठमाडौं । विगत ६ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले लकडाउनको बेला बन्द भएको हाई सेवा पुनः सुरु गर्ने भएको छ ।
असोजको दोस्रो साताबाट ट्रंक रुटमा विभिन्न ५ गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए ।
सौर्य एयरलाइन्सले डेढ बर्ष अघि देखि भारतको कुवेर समुहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ ।
कुवेर समुहका विकास मालुले भारत र दुवईमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
यो समुहले १० वटा नयाँ जहाज खरिद गरि आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर सौर्य एयरलाइन्समा आएको हो ।
सौर्य एयरसँग यसअघि दुईवटा जहाज सञ्चालनमा थिए । कम्पनीसँग क्यानडाको बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका जहाज थिए ।
लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ ।
‘असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं’ अध्यक्ष पोख्रेलले भने, ‘केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं ।
साथै चाडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफनो बजार बिस्तारको लागि अझ आक्रामक रुपमा आउनेछौं ।’
उनका अनुसार अहिले एयरलाइन्सले झापाको चन्द्रगढीमा दैनिक एक उडान गर्ने भएको छ । यस्तै विराटनगरमा ३ वटा, भैरहवा २ वटा, नेपालगञ्ज २ वटा र धनगढीमा २ वटा वटा गरि दैनिक दश वटा उडान हुनेछ ।
विश्वलाई नै कोरोनाले आक्रान्त पारीरहेको बेला नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर हवाई सेवा सञ्चालन गर्न लागेको छ ।
‘हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं ’ पोख्रेलले भने, ‘पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं ।’
SHARE YOUR THOUGHTS