नेकपा निकटले हार्ने भएपनि कर्मचारीको चुनाव रोकियो-निजामती कर्मचारी युनियन « Eglish Khabarhub

नेकपा निकटले हार्ने भएपनि कर्मचारीको चुनाव रोकियो-निजामती कर्मचारी युनियन



काठमाडौं । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले गम्भीर आपत्ति जनाएको छ ।

संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित गरिएकोमा आपत्ति जनाएको हो । उसले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ ।

संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालासँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

उनले भने,‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो । तर, सरकारले एकाएक कसैसँगपनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय गर्यो । यो लोकतन्त्रमाथिको धावा हो ।’

उनले निर्वाचन स्थगित गरेको विषयलाई संविधानको भावना र कानूनविपरित भएको पनि टिप्पणी गरे ।

उनले निर्वाचन स्थगित गरिएकोमा आफुहरुको घोर आपत्ति रहेको पनि बताए । उनले भने,‘कोरोनाको कहरकै बीचमा निर्वाचनको मिति तय गरिएको हो, निर्वाचन नगर्ने हो भने किन चुनावको मिति तोकियो त ? हामी प्रजातन्त्रवादी हौं । चुनावको पक्षमा थियौं । चुनावबाट भाग्नु भनेको लोकतन्त्रविरोधी कदम हो ।’

उनले आफूहरु ट्रेड युनियनको अधिकार रक्षा हुनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘सरकारले एक्कासी निर्वाचन स्थगित् गरेर गम्भीर त्रुटी गरेको छ ।

सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता भएको छैन् । उहाँहरुको आन्तरिक लडाई हो । उहाँहरुले हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको हो ।’ उनले सरकारी संयन्त्र प्रयोग गरेर (गुप्तचर र सिडिओहरुमार्फत) चुनाव हार्ने देखेपछि पार्टीलाई कन्भिन्स गराएर नेकपानिकट संगठनहरुले चुनाव स्थगित गराउन लगाएको पनि आरोप लगाए ।

अध्यक्ष पोखरेलले चुनाव स्थगित गर्नुको दुई आरोप लगाए । उनले भने,‘उहाँहरुको दुई संगठन हुन नसक्नु र अर्को भनेको आफू पराजित हुने डर नै हो ।’ सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडान नमिल्ने उनको भनाई छ ।

पोखरेलले वर्तमान सरकार एकपछि अर्को गरेर अलोकप्रिय बन्दै गइरहेको टिप्पणी गरे । उनले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा नभएपनि यसरी चुनाव स्थगित् हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको बताए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित् गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले सरकारले एक्कासी निर्वाचन स्थगित् गरेको निर्णय आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने,‘निर्वाचन स्थगित गर्ने सरकारको निर्णयमा सहमत हुन सकिँदैन ।’

Publish on: