जापानबाट निर्मित सुजुकी कार अब नेपाली बजारमा, कारको मूल्य कति ? « Eglish Khabarhub

जापानबाट निर्मित सुजुकी कार अब नेपाली बजारमा, कारको मूल्य कति ?



काठमाडौं ।  नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरू नेपाली बजारमा ल्याउने भएको छ ।

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरू मात्र भित्रिरहेका हुनाले एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिकालगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्नपाउने कम्पनीले जनाएको छ ।

सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइन अपलाई निरन्तरता दिने भएको छ ।

सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको हुनाले कम्पनीले सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा रहेको कम्पनीको भनाइ छ ।

यस्तो छ विशेषता

कम्पनीले यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुने कम्पनीको दाबी छ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्रीहुने प्रिमियम एसयुभी मध्ये पर्छ ।

उक्त गाडीमा फोरव्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेको छ । जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास रहेको छ । भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रि–बुकिङ सुरु गर्नुका साथै विशेष अफरको व्यवस्था समेत गरेको छ । यी गाडीहरू सीजी नेक्स्ट् जेन सोरुमहरु बाट उपलब्ध हुनेछन् ।

Publish on: