५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव « Eglish Khabarhub

५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव



काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ ।

त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पेस गरेको हो ।

सो सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल माध्यमबाट द्विपक्षीय छलफल समेत भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग उनको कार्यकक्षमा विदाई भेटका लागि पुगेका नेपालका लागि अष्ट्रलियाका राजदूत पिटर बडलाई नेपाल सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका थिए ।

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पारे ।

कम्पनीका अध्यक्ष सहितको २३ सदस्यीय टोली यही असोज २६ गते नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले सो टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा जानकारी दिने उल्लेख गरे । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो ।

मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत् क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।

अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे ।

Publish on: