डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध ४ वटा गम्भीर प्रकृतिका उजुरी « Eglish Khabarhub

डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध ४ वटा गम्भीर प्रकृतिका उजुरी



काठमाडाैं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा ४ वटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो ।

उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताए । समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाण सहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।

उजुरी परेका मध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध ३ वटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी विरुद्ध एउटा उजुरी सभापति कर्णले बताए ।

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पानामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्बाबे, ज्ञावेनलगायतका देशका लागि गैह्रआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।

Publish on: