काठमाडौं । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका-२०७७ स्वीकृत गरेको छ ।
लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने भएका छन् ।
केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गर्न साथै कोरोना महामारीमा धितोपत्र व्यवसायीकोमा ग्राहकले आफूले भर्नु पर्ने ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउन उक्त निर्देशिका स्वीकृत गरेको हो ।
यसले डिजिटलाईजेसन गर्न आवश्यक रहेको भन्दै बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट बोर्डमा पेश भएको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका–२०७७ स्वीकृत गरी कार्यान्वयनको लागि सिडिएससीमा पठाएको छ ।
उक्त निर्देशिकामामा ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था राखिएको छ । केवाईसी विवरण प्रयोग सम्बन्धी व्यवस्था, केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था, केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था समावेश गरिएको छ ।
केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ कार्यान्वयनमा आए पश्चात धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नुपर्ने झण्झटिलो व्यवस्थामा कमी आउने छ ।
यसले लगानीकर्तालाई धितोपत्र कारोबार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र बजार प्रविधिमैत्री हुँदै गई बजार विकासमा समेत थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।
SHARE YOUR THOUGHTS