काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाको समयमा निकै प्रभावित भएको अटोमोबाइल्स क्षेत्र दशैंको अवधिमा उल्लेखनीय बिक्री वितरण गरेको छ ।
लकडाउन र निषेधाज्ञा खुकुलो गर्ने घोषणा गरेसँगै पनि करिब ४० देखि ५० प्रतिशतले बिक्री बढी भएको अटोमोबाइल्सले दशैंको माहोलमा पनि अपेक्षाभन्दा बढी व्यापार गर्न सफल भएको छ ।
कोरोना महामारीको समयमै दशैं भएका कारण विभिन्न कम्पनीले आफ्नो ग्राहकहरुलाई आकर्षण गर्नको लागि विभिन्न अफर सार्वजनिक गरेका थिए । उक्त अफर सार्वजनिक गरेसँगै बजारमा मोटरसाइकल तथा स्कुटरको बारेमा सोधपुछसँगै किन्ने मानिस वृद्धि भएको कम्पनीहरूको भनाइ छ ।
कम्पनीहरूले अफर सार्वजनिक गरेसँगै कतिपय कम्पनीले लक्ष्य लिएअनुसार बिक्री वितरण गरेको छ भने कतिपय कम्पनीको लक्ष्य लिएकोभन्दा करिब ७० प्रतिशत बढीले बिक्री भएको कम्पनीहरूले बताएका छन् ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिका अनुसार अफर सार्वजनिक गरेसँगै ग्राहक ह्वात्तै बढेको बजार प्रबन्धक दिनेश रत्न बज्रचार्यले जानकारी दिए ।
उनका अनुसार अफर सार्वजनिक भएसँगै दैनिक सय भन्दा बढी बिक्री भएको बताए । कम्पनीले दशैंतिहार र छठसम्ममा ९ हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य लिएको थियो । तर, दशैंको अवधिमै करिब ८ हजारभन्दा बढी बिक्री भइसकेको हुनाले छठसम्ममा लक्ष्य लिएकोभन्दा बढी बिक्री हुने उनको अनुमान छ ।
‘कम्पनीले स्किम ल्याएको डेढ महिना भयो । हालसम्म आइपुग्दा कम्पनीले ८ हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ,’ उनले भने, ‘समय हेर्दा राम्रो बिक्री भएको छ । साथै, अझै तिहार बाँकी रहेकाले कम्पनीको लक्ष्यभन्दा पनि राम्रो व्यापार हुनेछ ।’
कम्पनीले कोरोनाको समयलाई मध्यनजर गर्दै लक्ष्य लिएको थियो । हालसम्मको अवस्था हेर्दा लक्ष्य अनुसार बिक्री भएको र छठसम्मको अवधिमा त्यो भन्दा पनि बढी बिक्री हुने उनको विश्वास छ ।
टिभीएस नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले दशैंको अवधिमा गत वर्षको तुलनामा भन्दा पनि बढी बिक्री गर्न सफल भएको प्रबन्ध निर्देशक तथा बजार प्रबन्धक दिपक रौनियार बताउँछन् । कम्पनीले यो वर्ष अपेक्षाभन्दा उल्लेखनीय व्यापार गरेको उनले बताए ।
उनका अनुसार दशैंको लागि स्किम सार्वजनिक भएदेखि हालसम्ममा १० हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गरेको बताए । साथै, गत वर्षको तुलनामा करिब ७० प्रतिशतले बढी व्यापार भएको उनी बताउँछन् ।
‘अहिलेसम्ममा कम्पनीले १० हजार बिक्री गरिसकेको छ,’ उनले भने, ‘अझै स्किम सकिन १५ दिन बाँकी भएकाले यो अवधिमा पनि धेरै बिक्री गर्ने अपेक्षा गरेका छौं ।’ हाल कारोनाले गर्दा पनि यस समयमा स्कुटर बाइकको बिक्री राम्रो भएको उनको बुझाइ छ ।
यसैगरी बजाजको आधिकारिक बिक्रेता एचएच बजाजका बजार प्रबन्धक पुनम सिङका अनुसार कम्पनीको लक्ष्य अनुसार दशैंको माहोलमा व्यापार गर्न सफल भएको उनी बताउँछिन् । कम्पनीले पहिलेदेखि नै दशैंमा लक्ष्य लिए अनुसार व्यापार पनि राम्रो भएको र आगामी दिनमा पनि अझै राम्रो व्यापार हुन सक्ने अनुमान लगाएको उनले बताइन् ।
त्यस्तै, सुजुकी मोटरसाइकल तथा स्कुटर कम्पनीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले दशैंको अवधिमा ४ हजारभन्दा बढी मोटरसाइकल तथा स्कटुर बिक्री गरेको कम्पनीको बजार प्रबन्धक समित सिङले जानकारी दिए । उनका अनुसार कोरोनाको समय भएता पनि यो अवधिमा ४ हजार बिक्री हुनु भनेको ठूलो उपलब्धि रहेको बताए ।
SHARE YOUR THOUGHTS