पशुपति मुरारका र शेखर गोल्छासहित किशोर प्रधान पुगे सुदुर पश्चिम प्रदेश « Eglish Khabarhub

पशुपति मुरारका र शेखर गोल्छासहित किशोर प्रधान पुगे सुदुर पश्चिम प्रदेश



काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयनका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र बनाएका छन् ।

महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।

आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरुसहित सुदुरपश्चिम पुगेका प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले विजयी गराउने प्रतिबद्धता जनाएका छन ।

महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबधता जनाएका हुन् ।

भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ ।

कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता थियो ।

आफ्ना मतदाताहरुसँग कुरा गर्दै प्रधानले महासंघको शाख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नु पर्ने बताए ।

उनले निर्वाचन भिडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरे । आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन् ।

कार्यक्रममा भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताए ।

Publish on: