२९ मंसिर २०८२, आइतबार

कोरोना प्रभावितलाई व्यवसायिक निरन्तरताका लागि कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि व्यवसायिक निरन्तरता कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधि अनुसार कर्जा प्रवाहका लागि आग्रह गरेको छ ।

राष्ट्र बैंकले मन्त्रिपरिषद्ले ‘ व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ ’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको छ ।

केन्द्रीय बैंकले अति प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न भनेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार मध्यम प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु सात करोडसम्म प्रवाह गर्न निर्देशन गरिएको छ ।

त्यस्तै न्यन प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम ५ करोडसम्म प्रवाह गर्न निर्देशन दिइएको छ ।

केन्द्रीय बैंकले त्यस्तो कर्जा आफनो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सकिनेछ । सीमा स्वीकृत गर्दा कार्यविधि अनुसार प्रवाहित कूल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्क बाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यवसायिक निरन्तरताकर्जा प्राप्त गरेका ऋणीको विवरण आफनो बेवसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।