यति एयरलाइन्सले पोखरा र भरतपुर बाहेकका गन्तव्यको प्याकेज स्थगित गर्‍यो « Eglish Khabarhub

यति एयरलाइन्सले पोखरा र भरतपुर बाहेकका गन्तव्यको प्याकेज स्थगित गर्‍यो



काठमाडौं । यति एयरलाइन्सले चितवन र पोखरा बाहेक सबै गन्तव्यका लागि बिक्री गर्दै आएको भ्रमण प्याकेज एक महिनाका लागि स्थगित गरेको छ ।

यति एयरलाइन्सका उडान सुरक्षा प्रमुख प्रवक्ता सुदर्शन बर्तौलाले चिसो मौसम शुरु भएकाले पोखरा र भरतपुरको प्याकेज बाहेक अन्य गन्तव्यको प्याकेज स्थगित गरिएको जानकारी दिए । तर ती प्याकेज केही समयपछि भने फेरि शुरु हुने उनको भनाइ छ ।

यति एयरलाइन्सले काठमाडौंबाट विभिन्न ६ वटा गन्तव्यका लागि १६ थरीका प्याकेज ल्याएको थियो भने विभिन्न गन्तव्यबाट काठमाडौंका लागि पनि विभिन्न प्याकेज ल्याएको थियो ।

कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरपछि यस क्षेत्रलाई चलायमान बनाउनका लागि कम्पनीले सस्तो दरमा विभिन्न प्याकेज ल्याएको थियो । बर्तौलाका अनुसार हालसम्म कम्पनीले ४ सयभन्दा बढी प्याकेज बिक्री गरिसकेको छ ।

उनका अनुसार गत शनिबारदेखि शुरु भएको माउन्टेन फ्लाइट, पोखरा र भरतपुरको प्याकेज भने चलिरहनेछ ।

‘नयाँ वर्ष पनि आउँदै गरेकाले पोखराका लागि राम्रो बुकिङ छ,’ उनले भने, ‘अन्य कतिपय स्थानमा हालसम्म पनि खुला नभएको तथा चिसो बढेकाले प्याकेज स्थगित गरिएको हो ।’

उनका अनुसार एभरेष्ट ट्रेलका लागि भने डिसेम्बर १ तारिखदेखि नै प्याकेज बन्द गरिएको थियो ।

Publish on: