सेयर बजारमा लगानीः बैंकहरुले बदमासी गरेको राष्ट्र बैंकको निष्कर्ष, विवरण मागेर अध्ययन गर्दै गभर्नर « Eglish Khabarhub

सेयर बजारमा लगानीः बैंकहरुले बदमासी गरेको राष्ट्र बैंकको निष्कर्ष, विवरण मागेर अध्ययन गर्दै गभर्नर



काठमाडौं । बैंकहरुले सेयर बजारमा गरेको लगानीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चासो देखाएका छन् ।

पछिल्ला केही महिनायता बैंकहरुले तोकेको दायराभन्दा बढी सेयर बजारमा लगानी गरेको आशंकामा गभर्नर अधिकारीले बैंकहरुको लगानीको विवरण माग गरेका छन् । बैंकहरुले तोकेभन्दा बढी लगानी गरेका कारण पनि बजारमा उछाल आएको आशंका गरिएको छ ।

अहिले बैंकहरुले बीमा कम्पनीको र बीमा कम्पनीले बैंकहरुको सेयर किनिरहेको ब्रोकरहरु बताउँछन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्त कम्पनीले संस्थाले कुनै एक फार्म तथा सम्बन्धित संस्थाको पुँजीको कुल १० प्रतिशत लगानी गर्न पाउँछन् भने ती संस्थाले जारी गरेको सेयरमा दोस्रो बजारमा आफ्नो कुल पुँजीको १ प्रतिशत लगानी गर्न पाउँछन् ।

कोरोना भाइरसका कारण अन्य क्षेत्रबाट कर्जाको माग नहुँदा बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिएको छ ।

बुल मार्केटबाट अल्पकालीन फाइदा कमाउन बैंकहरुले सेयर बजारमा ह्वात्तै लगानी बढाए

तरलता बढी भएपछि बैंहरुले अल्पकानलीन नाफा कमाउने माध्यमका रुपमा सेयर बजारमा तोकेभन्दा बढी लगानी गरेको आशंका गर्दै गभर्नर अधिकारीले बैंक सुपरिवेक्षणसँग बैंकहरुको लगानीको विवरण मागेका छन् ।

‘३/४ महिनामै सेयर बजारमा बैंकहरुको लगानी ७/८ अर्बले बढेको छ, त्यसमा कति अल्पकालीन लगानी र कति दीर्घकालिन लगानी हो छुट्याउन गभर्नको निर्देशन छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो,’ ‘उहाँले केही दिन अघि सुपरीवेक्षणका प्रमुखलाई नै बैंकअनुसार लगानीको तथ्यांक पेश गर्न निर्देशन दिनुभएको थियो, त्यसको फलोअप गभर्नर कार्यालय र नियमन विभागले समेत गरिरहेको छ ।’

हाल राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षण बन्द रहेको हँदा विवरण केही दिनमा नै गभर्नर सामू लगानीको तथ्यांक पेश हुने स्रोतको भनाइ छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै गभर्नर अधिकारीले बैंकहरुको कर्जा विस्तारमा राष्ट्र बैंकले सुक्ष्मरुपमा निगरानी गरिरहेको बताएका थिए ।

बैंकहरुले सेयर बजारमा तोकेभन्दा बढी लगानी गरेको राष्ट्र बैंकको ठहर

राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म बैंकहरुको कुल १ खर्ब ७३ अर्ब रुपैयाँ लगानी थियो । जसमा ४ महिनामा नै बैंकहरुले लगानी ८ अर्ब रुपैयाँले बढाएर १ खर्ब ८२ अर्ब रुपैयाँ पुर्याएका छन् ।

उक्त लगानीको तथ्यांकको आधारमा नै बैंकहरुले दायराभन्दा बढी सेयर बजारमा लगानी गरेको राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बताए ।

‘बैंकहरुको कुल पुँजी भनेको ४ खर्ब ८२ अर्ब रुपैयाँ छ, लगानी निर्देशिका अनुसार १ प्रतिशत सेयर बजारमा लगानी गर्दा ४ अर्ब ९० करोड रुपैयाँमात्र ट्रेडिङमा लगानी गर्न पाउँछन्,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने ।

त्यसैले अहिले राष्ट्र बैंकले अल्पकालीन लगानी मानिने ट्रेडिङमा कति र दीर्घकालीन मानिने संस्थापक सेयरमा कति लगानी गरेका छन् भनेर बैंकहरुसँग विवरण मागेर अध्ययन गरिरहेको छ ।

‘यसमा राष्ट्र बैंक उच्च व्यवस्थापनले समेत बैंकहरुले बदमासी नै गरेको ठहर गरेको छ,’ ती अधिकारीले थपे, ‘यसको विस्तृत अध्ययन र अनुगमन सम्बन्धित विभागले गरिरहेको छ ।’

राष्ट्र बैंकद्वारा जारी बैंक तथा वित्त कम्पनीहरुको एकीकृत निर्देशिकामा लगानीसम्बन्धी व्यवस्थामा ‘कुनै एक संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने छ ।

त्यसैगरी, संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ ।

लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा यसरी बढी लगानी भएको रकम बराबर पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गरिनेछ ।

जसमा बैंकहरुले सेकेन्डरी मार्केटमा मात्र कुल पुँजीको १ प्रतिशतमात्र लगानी गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ ।

Publish on: