काठमाडौं । एनआइसी एशिया बैंक र प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
दुबै कम्पनीले बिहीबार राष्ट्रिय दैनि पत्रिकामा सूचना प्रकाशित गर्दै बोलकबोलका लागि आवेदन दिन आह्वान गरेका छन् ।
नाफामा पनि पहिलो नम्बरमा पर्ने होडमा रहेको एनआसीइ एशिया बैंकले कोषमा भएको २ लाख २ हजार ५ सय ६० कित्ता संसथापक सेयर प्रतिकित्ता २३ सय रुपैयाँमा नघटाई बोलकबोल गर्न आह्वान गरेको छ ।
प्रतिकित्ता २३ सय रुपैयाँकै दरले बिक्री गर्दा एनआइसी एशियाको आम्दानी ४७ करोड ८४ लाख ४६ हजार ७ सय २० रुपैयाँ हुन्छ ।
बिक्री प्रबन्धक रहेको एनआइसी एशिया क्याविटलका अनुसार इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यो सेयर बैंक तथा वित्तक कम्पनी र बीमा कम्पनीले मात्रै किन्न पाउने छन् ।
त्यसैगरी, प्रिमियर इन्स्योरेन्सले कोषमा भएको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रतिकित्ता १९ सय रुपैयाँमा नघटाई बोलकबोल गर्न आह्वान गरेको छ । प्रतिकित्ताा १९ सय रुपैयाँकै दरले बिक्री भयो भने प्रिमियरले ९ करोड ५० लाख रुपैयाँ कमाउँछ ।
प्रिमियर इन्स्योरेन्सले उक्त सेयरको बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्टलाई तोकेको छ । इच्छुक लगानीकर्ताले पुस २ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । यो सेयर पनि बैंक तथा वित्तक कम्पनी र बीमा कम्पनीले मात्रै किन्न पाउने छन् ।
तर रमाइलो कुरा के छ भने एकैदिन एउटै कम्पनीको एकैप्रकारको सेयर बिक्रीमा राख्दा पनि मूल्य भने प्रतिकित्ता ४६२ रुपैयाँले फरक परेको छ ।
कम्पनीले आआफ्नो विश्लेषणका आधारमा मुल्य तय गरेकाले यस्तो भएको हुनसक्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् ।
‘कम्पनीहरुले आफूसँग भएको सम्पत्तिको विभिन्न आधारहरुको विशलेषण गरेर उपयुक्त मूल्य तय गरेकाले यस्तो फरक पर्न गएको हुनसक्छ, जुन कानून संवत नै छ,’ गिरीले भने ।
प्रिमियरले पनि एनआइसी एशियाकै जति मूल्य राखेको भए उसलाई थप २ करोड बढी आम्दानी हुने थियो । र, एनआइसी एशियाले प्रिमियरले राखेजति मूल्य राखेको भए झन्डै १० करोड रुपैयाँ कम आम्दानी हुने थियो ।
नागरिक लगानीको कोषको संस्थापक सेयर खरिद गर्ने खरिदकर्ताले लागतको आधारमा मूल्य निर्धारण हुने एनआइसी एशिया क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले बताए ।
‘बैंकले बिक्री गर्न लागेको कोषको संस्थापक सेयरमा कष्ट बढी भएको हुँदा प्रति सेयर मूल्य सोही अनुसार निर्धारण गरिएको हो,’ रायमाझीले क्लिकमाण्डूसँग भने, ‘एउटै संस्थाको सेयर यसरी छुटाछुट्टै मूल्यमा बिक्री गर्दा लगानीकर्ता अन्यौलमा पर्न भने सक्छन् तर प्रिमियरको भन्दा एनआइसीले बिक्री गर्न लागेको सेयर बढी भएको हुँदा मूल्य बढी भएकै कारणले बैंकले बिक्री गर्ने सेयरमा असर भने पर्दैन ।’
बैंक र इन्स्योरेन्सले कोषबाट संस्थापक सेयर खरिद गर्दाको मुल्यभन्द्या केही प्रतिशत मार्जिन राखेर बिक्री गर्दा एनआइसीले केही बढी मार्जिन राख्दा मूल्य बढी भएको उनको भनाइ छ ।