अब विदेशी मुद्रामा लिएको ऋण स्वदेशी मुद्रामा तिर्न सकिने « Eglish Khabarhub

अब विदेशी मुद्रामा लिएको ऋण स्वदेशी मुद्रामा तिर्न सकिने



काठमाडौं । विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै कोभिड-१९ का कारण विदेशी मुद्रा आम्दानी नभएको निष्कर्ष निकाल्दै अर्को व्यवस्था नहुँदासम्म विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा नै किस्ता भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ ।

परिपत्रमा भनिएको छ- ‘परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारणले सम्बन्धित फार्म/कम्पनी/उद्योगहरुको विदेशी मुद्र आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था नभएमा अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिनेछ ।’

जसअनुसार विषेशगरी पर्यटन क्षेत्रका व्यवसायीहरुले विदेशी मुद्रा लिएको ऋण नेपाली रुपैयाँमा नै भुक्तान गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

‘कोभिड-१९ का कारण यी क्षेत्रको आम्दानी ठप्प जस्तै छ, विदेशी मुद्रा आम्दानी नभएपछि त्यसमा भुक्तानी गर्न उनीहरुले सक्दैनन्,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘ऋण नतिरेपछि कालो सुचीमा पर्ने सम्भावना हुन्छ, त्यसकारण विदेशी मुद्रामा लिएको ऋणको साँवा ब्याज पनि नेपाली रुपैयाँमा भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।’

ऋणीले विदेशी मुद्रामा लिएको ऋणको साँवा ब्याज अर्को व्यवस्था नभएसम्म क्षमता अनुसार जतिपनि भुक्तानी गर्न सक्ने उनले जानकारी दिए । यस अघिसम्म विदेशी मुद्रामा लिइएको ऋणको साँवा ब्याज भुक्तानी ऋणीले परिवर्त्य विदेशी मुद्रामा नै गर्नु पर्ने थियो । हालसम्म बैंकहरुले कुल ९८ अर्ब रुपैयाँ विदेशी मुद्रमा कर्जा प्रवाह गरेका छन् ।

Publish on: